चितवन । रुकुम चौरजहारी हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै चितवनमा विरोध प्रदर्शन भएको छ । संयुक्त राजनैतिक दलित संघर्ष समिति चितवनले रुकुम चौरजहारी हत्याकाण्डका दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरे ।
नारायणगढको लायन्सचोकबाट निस्केको विरो प्रदर्शनले नगरको परिक्रमा गरेका थिए । प्रदर्शनमा उनीहरुले जातीय आधारमा हुने भेदभावको अन्त्य गर्न माग गरेका थिए । विरोध प्रदर्शनमा सहभागी हुनेहरुले छुवाछुत ऐन कसुर सजाय अनुसार दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका थिए ।
सहभागीहरुले विभेदरहित समातामूलक समाजको निर्माण गर, दलितमाथिको सबै प्रकारको उत्पीडन र विभेदको अन्त्य गर, रुकुम घटनाका दोषीलाई कारबाही गर, सबै जाति मानव हो, मानव मानव एउटै हो, जातीय व्यवस्था खारेज गरलगायतका नारा लगाएका थिए ।
गत जेठ १० गते आफ्नो प्रेमिका भगाउनका लागि रुकुम पश्चिमको चौरजहारी पुगेका जाजरकोटका नवराज विक र उनका साथीहरु टीकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीलाई हत्या गरी भेरी नदीमा फालिएको थियो । नवराज विकसहित गएका अन्य १२ जना भागेर बाँच्न सफल भएका थिए ।
रुकुम चौरजहारी हत्याकाण्डमा अनुसन्धानका लागि प्रहरीले आरोपित २८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
हत्याकाण्डमा थप अनुसन्धानमा लागि अदालतले उनीहरुको म्याद थप गरेको छ । अदालतले जाजरकोटका ६ युवाको हत्या गरेको अभियोगमा थप अनुसन्धान गर्नका लागि थुनामा राख्न अनुमति दिएको हो ।
रुकुम पश्चिम चौरजहारीबाट प्रेमिकालाई भगाउन आएका जाजरकोटका युवाहरुलाई जेठ १० गते घेरा हालेर हत्या गरी भेरी नदीमा बगाएको आरोप लागेको छ । जाजरकोटका नवराज विक र मल्ल थरकी युवतीबीचमा प्रेम सम्बन्ध रहेको थियो । परिवारको सहमति नभएपछि विक १८ जना साथीसहित युवती लिन पुगेका थिए ।
उनीहरुलाई चौरजहारीबासीले आक्रमण गरेका थिए । यसरी पुगेका मध्ये ६ जना युवाको ज्यान गएको थियो । दलित युवाले माथिल्लो जातकी युवती लिन आएको भन्दै गाउँलेहरुले जातीय विभेदका आधारमा हिंसा गरेको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो । अनुसन्धान नसकिएकाले म्याद थप पाएको प्रहरीले जनाएको छ ।
दोषीलाई छिटोभन्दा छिटो कडा कारबाहीको माग गर्दै संयुक्त राजनैतिक दलित संघर्ष समितिले देशव्यापी प्रदर्शन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०७७, १४ : ३५
लेखकबाट थप