सिरिया घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

बुधबार, १६ फागुन २०७४, ०८ : ५६
सिरिया घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

रत्ननगर, चितवन । सिरियामा भइरहेको नरसंहार र बमबारीको विरोध तथा मृतकको सम्झनामा चितवनमा दीप प्रज्वलन गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले चितवनको भरतपुरस्थित चौविसकोठीमा उक्त घटनाको विरोध गर्दै मंगलबार साँझ मृतकको सम्झनामा दीप प्रज्वलन गरेको हो । उनीहरुले सिरियामा भइरहेको पछिल्लो आक्रमणको विरोधसमेत गरेका थिए ।

शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघले ध्यान दिनुपर्ने विद्यार्थीको भनाइ थियो । विभिन्न सञ्चारमाध्यममा आइरहेका दृश्यले सिरिया घटनाले बालबालिका बढी प्रभावित भएको र आक्रमणको निशानामा परिरहेको भन्दै विद्यार्थीले यस्ता घटना रोकिनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले मृतकको चिरशान्तिको कामनासमेत गर्नुभएको छ । बालबालिकाको बीभत्स हत्या भइरहेकाले रोकिनुपर्ने भन्दै अखिल क्रान्तिकारीका संयोजक वसन्त आचार्यले मृतकको सम्झनामा दीप प्रज्वलन गरिएको बताउनुभयो ।

यसैबीच, चितवनको नारायणगढमा समेत मंगलबार दीप प्रज्वलन गरी युवाले सिरिया घटनाको विरोध गर्दै मृतकको सम्झनामा दीप प्रज्वलन गरेका थिए । विभिन्न स्कूल, कलेजका विद्यार्थी संगठनले नारायणगढको लायन्स चोकमा दीप प्रज्वलन गरी सिरिया घटनाका मृतकको सम्झना गरेका थिए । उनीहरुले सो घटना रोक्न मागसमेत गरेका स्थानीयवासी लेखराम सापकोटाले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस