एकता कार्यदलको बैठक बस्दै

मंगलबार, १५ फागुन २०७४, ११ : ४९
एकता कार्यदलको बैठक बस्दै

काठमाडौँ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणसम्बन्धी संगठनात्मक कार्यदलको बैठक आज बस्दैछ । एमाले मुख्यालय धुम्बाराहीमा दिउँसो साढे बाह्र बजे बस्ने बैठकले संगठनात्मक एकीकरणका लागि अन्तरिम विधान बनाउने बारे छलफल सुरू गर्नेछ । एमाले नेता तथा कार्यदलका प्रवक्ता गोकर्ण विष्टका अनुसार आजको बैठकले दुई पार्टी एकीकरणको मापदण्डसहितको कार्यतालिका निर्माण गर्ने छ ।

‘तोकिएको समयसीमा (फागुन २५) भित्र अन्तरिम विधान र संगठनात्मक अवधारणाको मस्यौदा तयार पार्ने कार्यतालिका बनाइन्छ । त्यसमा दुवै पार्टीका संगठानात्मक संरचनालाई विशेष ध्यान दिइनेछ । त्यस्तै भातृ संगठन, प्रवास, संविधानले भनेको संघीयता लगाययतलाई आधार मानेर अन्तिरिम विधानका लागि कार्यतालिका बनाइन्छ,’ नेता विष्टले  बताए ।

यसअघिको बैठकले दुवै दलको विधान र संगठनात्मक ढाँचा अध्ययन गर्ने गरी आदानप्रदान गरेका थिए । त्यसैको आधारमा अन्तरिम विधान र संगठनात्मक ढाँचा तयार गर्ने विषयमा छलफल हुने विष्टले जानकारी दिए । पार्टी केन्द्रदेखि गाउँ तहसम्मका कमिटीहरु एकीकरण गर्न यो कार्यदलले ठोस आधार तय गर्नेछ ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा कार्यदलका संयोजक हुन् भने एमालेबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, पोलिटव्यूरो सदस्य रघुवीर महासेठ र बेदुराम भुसाल छन् । माओवादीबाट भने गिरिराजमणी पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस