पेरिस । कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ ।
युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीइए) ले युरोपेली युनियन र सदस्य राष्ट्रका सरकारहरुलाई उद्योग बचाउन र रोजगारी गुम्न नदिने परिस्थिति निर्माण गर्न पनि आह्वान गरेको छ ।
युरोपमा कार बिक्रीमा व्यापक गिरावट आउने जनाउँदै एसीइएले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा करिब १ करोड २८ लाख थान कार बिक्री भएकामा यस वर्ष सन् २०२० मा करिब ३० लाख थान कार बिक्री घट्ने उल्लेख छ । अर्थात् यस वर्ष करिब ९६ लाख थान कार मात्र बिक्री हुनेछन् ।
यस वर्ष, कोरोनाभाइरस महामारी रोक्न जारी गरिएका लकडाउन र प्रतिबन्धहरुको असरका कारण कार बजार करिब ४१।५ प्रतिशतले खुम्चिएको छ । तर एसीइएले प्रतिबन्धहरु खुकुलो हुन थालेकाले परिस्थितिमा केही सुधार हुने अपेक्षा राखिएको जनाएको छ ।
एसीइएले युरोपको अटोमोबाइल क्षेत्रले धेरैपछि असामान्य परिस्थितिको सामना गर्नु परेको जनाएको छ । यी नकारात्मक असरलाई युरोपेली युनियन र सरकारहरुले राजनीतिक र आर्थिक मद्दतका आधारमा मिलेर मात्र हल गर्न सक्ने इसीइएले बताएको छ ।
प्रतिक्रिया दिनुहोस