म्यानमारका प्रतिनिधिमण्डलसित अन्तरक्रिया

सोमबार, १४ फागुन २०७४, १६ : ०७
म्यानमारका प्रतिनिधिमण्डलसित अन्तरक्रिया

काठमाडौँ । स्थानीय सुशासन र जवाफदेहीताका विभिन्न अभ्यास र सिकाइहरूका बारेमा म्यान्मारले अभिरुची देखाएको छ । नेपाल भ्रमणमा रहेको म्यान्मारका मन्त्री, सांसद एवं तानिन्थारीका स्थानीय सरकारका अधिकारी, नगर, गाउँ र वडाका प्रतिनिधिहरूले आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालले हासिल गरेको अनुभव म्यान्मारका लागि निकै उपयोगी रहने धारणा राखेको थियो । प्रतिनिधिमण्डलमा १३ जना उच्च अधिकारीहरुको सहभागिता रहेको छ ।

नेपाल सहभागिता समूह(नेपान)ले आयोजना गरेको सो अन्तरक्रियामा पूर्व सभासद कृष्णप्रसाद सापकोटा र सुशासन विज्ञ गोविन्द न्यौपानेले क्रमशः स्थानीय शासन र सामाजिक जवाफदेहिता विषयमा प्रकाश पार्नुभएको थियो ।

छलफलमा उठेको प्रश्नहरूको नेपानका संस्थापक सदस्य सञ्जय राणा र निवर्तमान अध्यक्ष उत्तम उप्रतीले स्पष्ट पार्नुभएको थियो ।

सो अवसरमा सामाजजिक जवाफदेहिताको विषयमा नेपानले गरेको परियोजनाका बारेमा परियोजना अधिकृत दिवेश सायमीले जानकारी गराउनु भएको थियो ।

नेपानका अध्यक्ष चेतनाथ कणेल र कार्यकारी निर्देशक फटिक थापाले आगामी दिनमा नेपान र म्यानमारबीच सहकार्य गरिने बताउनुभयो ।

म्यानमारका मन्त्री उ फ्यो विन तुनले भगवान बुद्धको फ्रेमसहितको तस्बिर नेपानलाई उपहार दिँदै नेपाल धार्मिक हिसाबले पनि म्यान्मारका जनताका लागि पूण्य भूमि रहेको उल्लेख गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस