खाना पकाउन स्वच्छ ऊर्जाको प्रवद्र्धनमा जोड

सोमबार, १४ फागुन २०७४, १६ : ०३

ललितपुर । घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गरी स्वच्छ भान्छाको अभियानलाई सफल तुल्याउन विद्युत्बाट खाना पकाउन प्रोत्साहित गर्नुपर्नेमा सरारकारवालाले जोड दिएका छन् ।

खाना पकाउन परम्परागत ऊर्जा स्रोत दाउराको प्रयोगले नेपालमा वर्षेनी २२ हजार व्यक्तिको धुवाँजन्य रोगबाट मृत्यु हुने गरेको सन्दर्भमा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग बढाउन इन्डक्सन वा अन्य विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरुको धारणा थियो ।

‘ग्लोबल एलाइन्स फर क्लिन कुकस्टोभ्स’ (जिएसिसी) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा आज यहाँ आयोजित नेपालका शहरी क्षेत्रमा स्वच्छ घरेलु ऊर्जासम्बन्धी कार्यशालाका वक्ताले धुवाँबाट जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव पर्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न सरकार, दातृ निकायबीच सहकार्य एवं आमउपभोक्तामा सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा वरिष्ठ चिकित्सक डा मृगेन्द्रराज पाण्डेले आफूले सन् १९७९मै घरभित्रको धुवाँबाट जनस्वास्थ्यमा परेको प्रतिकूल असरका बारेमा अनुसन्धान गरेको बताउँदै अहिले पनि यो समस्या खासगरी ग्रामीण क्षेत्रमा जटिल रहेको उल्लेख गर्नुभयो ।

जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले घरभित्रको वायु प्रदूषण नेपालमा मात्र नभई विश्वव्यापी वातावरणीय चुनौती रहेकाले यसको समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

पूर्व मन्त्री गणेश साहले अहिले पनि ठूलो जनसंख्या परम्परागत ऊर्जामै निर्भर रहेकाले स्वच्छ ऊर्जासम्बन्धी उपयुक्त प्रविधि, मानव संशाधन र वित्तीय पहुँच बढाउनुपर्ने बताउनुभयो ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)का महानिर्देशक डा डेभिड मोल्डेन, नर्वेजियन दूतावासका श्रीमती सल्भिङ एण्डरसन र जिएसिसीका अर्जित बसुले खाना पकाउन प्रयोग गर्ने दाउराले वायु प्रदूषण बढाएको र यसबाट जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पार्ने भएकाले स्वच्छ ऊर्जा प्रविधिको विकास र विस्तारमा सहयोग रहने धारणा राख्नुभयो ।

सो अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकाल, काभ्रेपलाञ्चोकको मदानेपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा तामाङले पनि बोल्नुभएको थियो ।

जिएसिसी नेपाल बजार प्रबन्धक करुणा बज्राचार्यले दुई वर्षअघि काभ्रेको मदानेपुर र पाँचखालमा गरिएको अध्ययनमा झण्डै ९९ प्रतिशत घरमा दाउराबाटै खाना पकाउने गरिएकाले त्यसलाई कम गर्न इन्डक्सनजस्ता उपयुक्त विद्युतीय उपकरणको प्रयोगलाई प्रवद्र्धन गर्न लागिएको जानकारी दिनुभयो ।

विभिन्न अध्ययनबाट एलपी ग्यासभन्दा इन्डक्सन चुलो धेरै सस्तो पर्ने देखिएबाट यसलाई प्रवद्र्धन गर्न लागिएको उहाँको भनाइ थियो । (रासस)

प्रतिक्रिया दिनुहोस