बेपत्ता परिवारका सदस्यसँग सोधपुछ गर्दै आयोग

सोमबार, १४ फागुन २०७४, १५ : ३८

सुरुङ्गा, झापा । सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकाको विस्तृत प्रतिवेदनका लागि सरकारले बेपत्ता परिवारका सदस्यसँग सोधपुछ गर्ने काम शुरु गरेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले झापाका बेपत्ता परिवारसँग सोधपुछ शुरु गरेको हो । आयोगका प्रवक्ता प्राध्यापक डा विष्णु पाठकको नेतृत्वमा आएको टोलीले बेपत्ता पारिएका व्यक्तिको विषयमा उनका आफन्तसँग आइतबारबाट सोधपुछ गरिरहेको छ ।

आयोगको कार्य पद्धति आन्तरिक व्यवस्थापन, उजुरीको आह्वान, प्रमाणको संकलन, आवश्यकतानुसार पीडितको परिवारको डिएनए संकलन एवं पीडितको शरीर गाडिएको ठाउँ वा चिहानको पहिचान, उत्खनन तथा सिफारिस एवं सुझाव तथ्य एवं कानूनको विश्लेषण आदि चरणमा आवश्यकताअनुसार काम अघि बढाइने प्रवक्ता पाठकले बताउनुभयो ।

आयोगको क्षेत्राधिकारभित्र नपरेका ४४१ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएको बताउँदै झापाबाट पनि आयोगमा ३७ वटा बेपत्ताका उजुरी परेको पाठकले बताउनुभयो । आयोगमा देशभरबाट तीन हजार ९३ वटा उजुरी संकलन भएको उहाँको भनाइ छ । त्यसमध्ये दुई हजार २५८ उजुरी छानबिनमा लाने पाठकले बताउनुभयो ।

बिर्तामोडमा आयोजिता बेपत्ता पारिएकाहरुका आफन्तसँग आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रवक्ता पाठकले आयोगको क्षेत्राधिकारभित्र नपरेका २७१ उजुरी तामेलीमा रहेको बताउनुभएको छ । उहाँले दोहोरो उजुरी परेका ११४ गाभिएको र विस्तृत छानबिनमा ३६ वटा उजुरी रहेको बताउनुभयो । उजुरीमध्ये ९२ प्रतिशत पुरुष र आठ प्रतिशत महिला बेपत्ता भएको आयोगमा उजुरी परेको छ उहाँले भन्नुभयो ।

शान्ति मन्त्रालयको तथ्याङ्कमा झापामा १९ जना बेपत्ता भएको उल्लेख गरिए पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने उजुरी कर्ताको संख्या छ पाठकले भन्नुभयो ।

विसं २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनामा संलग्न व्यक्तिका बारेमा सत्यतथ्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य जनतासँग ल्याउन आयोग क्रियाशील रहेको प्रवक्ता पाठकले बताउनुभयो ।

विसं २०७४ माघ २६ गते आयोगको समयावधि सकिए पनि २०७५ माघ २६ गतेसम्मलाई आयोगको म्याद थप गरी आयोगले काम अघि बढाइरहेको । (रासस)

प्रतिक्रिया दिनुहोस