आगलागीमा गम्भीर घाइते महिलाको मृत्यु

सोमबार, १४ फागुन २०७४, १३ : ४२
आगलागीमा गम्भीर घाइते महिलाको मृत्यु

दुनै, डोल्पा । गत फागुन १२ गते आगलागीमा परेर गम्भीर घाइते भएका तीन महिलामध्ये एकको मृत्यु भएको छ । मुत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका–६ फुल्चिङका ६० वर्षीया मनरुपा चलाउने रहेकी छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मनरुपाको आइतबार बेलुकी निधन भएको घाइते प्रतिमा रोकायका बुबा कमल रोकायले बताउनुभयो ।

सोही ठेगानाकै १६ वर्षीया प्रतिमा रोकाय, ६२ वर्षीया चाउरी चलाउनेलाई नेपालगञ्जमा पनि उपचार सम्भव नदेखिएपछि काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा लगिएको उहाँले बताउनुभयो ।

उपचार गराइरहेको उनीहरुको अवस्था पनि थप गम्भीर भएकाले बाँच्ने सम्भावना धेरै कम रहेको चिकित्सकले बताएको रोकायले बताउनुभयो । उनीहरु गत शनिबार दिउँसो त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत वडा ५ मा पर्ने कागुत्तो वनमा लागिरहेको आगलागीमा परेर गम्भीर घाइते भएका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस