असार १ देखि यसरी खुल्दै छन् कार्यालय

पत्रपत्रिकाबाट

आइतबार, ३२ जेठ २०७७, ०८ : १२
असार १ देखि यसरी खुल्दै छन् कार्यालय

काठमाडौं । झन्डै तीन महिना बन्द रहेका सरकारी, अर्धसरकारी र गैरसरकारी कार्यालयले असार १ (सोमबार) देखि लकडाउन अगाडिजस्तै पूर्ववत् रूपमा सेवा दिन थाल्ने भएका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न घोषित लकडाउन खुकुलो बनाएको सरकारले ८३ दिनपछि सबै कार्यालय खोल्न लागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारीले संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी कार्यालयहरू खुल्ने बताए । सम्पूर्ण सरकारी, संस्थान र गैरसरकारी कार्यालय दुई सिफ्टमा १० घण्टा खुल्नेछन् । पहिलो सिफ्ट बिहान ८ देखि १ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ देखि बेलुका ६ बजेसम्मको हुनेछ । आधा–आधा कर्मचारीको पालो मिलाएर दुई सिफ्ट मिलाइनेछ ।

लामो समयदेखि अवरुद्ध सर्वसाधारणका काम छिट्टै र सहज ढंगले गरिदिन सरकारले कार्यालय समय साताको ४० घण्टाबाट बढाएर ६० घण्टा पुर्‍याएको हो । शुक्रबारसमेत कार्यालय बिहान ८ देखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । कामको चापअनुसार कार्यालय समय तोकिएभन्दा बढी कायम गर्न या घटाउन सक्ने अख्तियारी कार्यालय प्रमुखलाई दिइएको छ ।

सरकारी कार्यालयमा सोमबारदेखि नागरिकता प्रमाणपत्र, राहदानी, लाइसेन्स बनाउने, कम्पनी, गाडी दर्ता, नवीकरण, जग्गा किनबेच, रोक्का, उद्योग, कम्पनी दर्ता, मालपोत, कर, राजस्व तिर्नेसहित सबै काम सुरु हुनेछन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस