यस्तो आयो एमालेबाट मन्त्री बन्ने भाग्यमानिहरूको नामवाली

आइतबार, १३ फागुन २०७४, १९ : ३७
यस्तो आयो एमालेबाट मन्त्री बन्ने भाग्यमानिहरूको  नामवाली

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीबाट मन्त्री बन्नेको टुङ्गो लगाउन अझै सकेको छैन । दावेदार धेरै भएपछि अध्यक्ष केपी शर्मा ओलीलाई मन्त्री छान्न सकस परेको हो । माओवादीसँगको भागवण्डामा एमालेलाई १० वटा मन्त्रालय परेको छ । मन्त्रीका लागि २ दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । महासचिव इश्वर पोख्रेल र सचिव प्रदीप ज्ञवाली यो पटक मन्त्री बन्ने लगभग पक्का छ ।

दुबैले अर्थ मन्त्रालयमा दावी गरेका छन् । यद्यपी वरिष्ठ भएका कारण पोखरेल अर्थमन्त्री बन्ने संभावना बढी रहेको एमाले स्रोतको भनाई छ । अर्थ नपाए ज्ञवाली परराष्ट्रमन्त्री बन्नेछन् । यसवाहेक सचिव योगेश भट्टराई पनि मन्त्रीको दौडमा अघि छन् । चुनाव प्रचारकै बेला अध्यक्ष केपी ओलीले ताप्लेजुङ पुगेर सांसद बनाएर पठाए आफुले भट्टराईलाई मन्त्री बनाउने सार्वजनिक रुपमा घोषणा गरेका थिए । पार्टीभित्र अध्यक्ष ओलीको आलोचकका रुपमा चिनिने भट्टराई सजिलै दिए लिने नत्र मन्त्रीका लागि बढी दौडधुप नगर्ने मनस्थितिमा छन् । प्रदेश ३ बाट जिवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र कृष्णलाल महर्जनले मन्त्रीमा दावी गरेका छन् ।

यीमध्ये एकजना मन्त्री बन्ने निश्चित रहेको एमाले स्रोतको भनाई छ । सिन्धुपाल्चोकका शेरवहादुर तामाङले पनि जनजाति कोटाबाट मन्त्री बन्न प्रयास गरिरहेका छन् । अर्थ मन्त्रालय नपाउने भएपछि सुरेन्द्र पाण्डेले सरकारमा जान खासै पहल गरेका छैनन् । प्रदेश १ बाट स्वयं प्रधानमन्त्री र पहिलो चरणमै लालबावु पण्डित मन्त्री भइसकेकाले अन्य दावेदारलाई सकस परेको छ । सो प्रदेशबाट मन्त्रीका लागि भानुभक्त ढकाल, वसन्त नेम्वाङ र राजेन्द्र राईले दौडधुप गरिरहेका छन् । प्रदेश २ बाट राघुविर महासेठ मुख्य दावेदार छन् । उनि आफु हुन नसके श्रीमती जुली कुमारी महतोलाई मन्त्री बनाउने चक्करमा छन् । प्रदेश ४ बाट रविन्द्र अधिकारीको बढी संभावना छ ।

गणेश तिमिल्सिनाले पनि दावेदारी छाडेका छैनन् । प्रदेश ५ बाट छविलाल विश्वकर्मा पनि मन्त्री बन्ने दौडधुपमा लागेका छन् । प्रदीप ज्ञवालीको लगभग निश्चित भएकाले एउटै जिल्लाका गोकर्ण विष्ट चुप लागेर बसेका छन । वरिष्ठ नेता माधव नेपाल भने सम्धी सोमप्रसाद पाण्डेलाई मन्त्री बनाउने कसरतमा छन् । कर्णाली प्रदेशमा मन्त्रीका खासै दावेदार देखिएका छैनन् । प्रकाश ज्वाला, यमलाल कँडेल जस्ता ठुला नेता प्रदेशसभामा गएकाले यहाँ दावेदार नभएका हुन् । प्रदेश ७ मा डोटीका प्रेम आलेले दावेदारी गरिरहेका छन् । महिलामा पद्मा अर्याल, गंगा चौधरी, शान्ता चौधरी लगायतले पनि दावी गरिरहेका छन् । अध्यक्ष ओलीलाई मन्त्री पदमा प्रदेश, जाति र भूगोल मात्र नभई आन्तरिक सन्तुलन पनि मिलाउनुपर्ने वाध्यता छ ।

वामदेव गौतम र झलनाथ खनालले आफुलाई एक/एक वटा मन्त्रालयको कोटा माग गरेका छन् । गौतमले पाएमा बलराम बास्कोटालाई मन्त्री बनाउने निश्चित छ । आइतबार बेलुका वा सोमबार दिउँसोसम्म मन्त्रीको टुङ्गो लगाउने गरी छलफल भइरहेको प्रधानमन्त्री ओलीका सहयोगीले बताएका छन् । यसअघि एमाले स्थायी समिति बैठकले शिर्ष नेतासँग छलफल गरेर मन्त्री छान्नो जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस