के हो सलह ? कसरी नियन्त्रण गर्ने ?

एजेन्सी

बुधबार, २१ जेठ २०७७, १३ : ४२
के हो सलह ? कसरी नियन्त्रण गर्ने ?

फाइल फाेटाे

एजेन्सी । सलह करोडौंको समूहमा उड्ने फट्याङ्ग्रा प्रजातिको किरा हो। यसको पछाडिको खुट्टा मोटो हुन्छ। मरुभूमि क्षेत्रमा पाइने किरा भएकाले उच्च तापक्रम अर्थात् ४० देखि ४५ डिग्री सेल्सियससम्म यो बाँच्छ र बढी सक्रिय हुन्छ । २० डिग्रीभन्दा कम तापक्रम भयो भने यो सक्रिय हुँदैन ।

समूहमा बस्ने यो किराले साथीको नक्कल गर्ने गर्दछ । ‘एउटाले जे गर्‍यो अर्कोले त्यही गर्ने बानी हुन्छ । भेडाले अगुवाको नक्कल गरेजस्तै यसले पनि साथीको नक्कल गर्छ ।  दिउँसो सक्रिय हुने सलह तापक्रम बढेमा राति पनि सक्रिय हुन्छ।

सलह पचासौं किलोमिटरसम्म लाममा उड्छ। ‘हावा जता जान्छ यो पनि त्यतै जान्छ। वयश्क सहलले एकै पटकमा सय दुई सय किलोमिटर यात्रा गर्न सक्छ । एउटा समूहले ३५ हजार मान्छेको खान्की खाइदिन सक्छ ।

सलहले एकैपटक ६० देखि ८० वटा अण्डा पार्छ। जीवनकालमा यसले तीन पटकसम्म अण्डा पार्छ। अण्डाबाट निस्केको एक महिनादेखि वयश्क हुन्छ। ६० देखि ७० दिन भएपछि अण्डा पार्न थाल्छ।

यसको आयु चारदेखि पाँच महिनासम्मको हुन्छ। विभिन्न अध्ययनअनुसार यसले दस दिनमा पाँच हजार किलोमिटरसम्म यात्रा गर्छ। यस्तै पाँचदेखि सात हजार फिटमाथिसम्म उडेको पुष्टि भएको विज्ञ बताउँछन्।

समुद्री छेउ, जहाँ यसको प्रकोप रहेको हुन्छ, त्यस्ता ठाउँमा आउने समुद्री आँधीले यसलाई परपरसम्म पुर्‍याइदिन्छ। एक किलोमिटरमा चारदेखि आठ करोडसम्म सलह हुन्छन्। एक किलोमिटरमा हुने सलहले ३५ हजार मान्छेको खान्की एकै दिनमा खाइदिने विज्ञ बताउँछन् । विज्ञहरुका अनुसार यसले भए भरको सबै बाली ठुटै पारेर खाइदिन्छ ।

यसको सक्रियता जेठदेखि असोजसम्म देखिन्छ । तर जलवायु परिवर्तनका कारण मनसुनी समय परिवर्तन हुँदा यो किराको जीवनचक्र पनि फेरिँदै गएको छ। यसले मान्छे र जनावरलाई आक्रमण गरेको भेटिएको छैन। साथै, कुनै संक्रामक रोग पनि सार्दैन ।

कसरी नियन्त्रण गर्ने ?

सलह नियन्त्रणको पहिलो उपाय विषादी नै हो। नीमको पात, गुँड, धुर, गुइँठा, जडिबुटी बालेर धुवाँ पारिदिँदा पनि सलह भाग्ने विज्ञ बताउँछन्। रुख र बारीमा बसेका बेला राति ठूलाठूला जाली बनाएर संकलन गरेर पनि यसलाई नियन्त्रण गर्न सकिन्छ ।

सलहको अथाह संख्या नै तनावको कुरा हो । थोरै हुन्थे भने जसरी पनि व्यवस्थापन गर्न सकिन्थ्यो होला तर साह्रै धेरै हुने भएकाले विषादीबाहेकको उपायबाट व्यवस्थापन गर्न सकिन्न ।

विदेशमा हवाईजहाजबाट विषादी छर्छन् भने भारतमा ठूला ट्याक्टरमा विषादी हालेर छर्दै हिँड्छन्। साना मेसिनले छर्केर त साध्य नै लाग्दैन। सलह नियन्त्रणका लागि मालाथिएन, फेनिट्रोथिएनलगायत विषादी प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस