मन्त्रिपरिषदले सोमबार पूर्णता पाउँछ : प्रचण्ड

शनिबार, १२ फागुन २०७४, १२ : ५८

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताउनु भएको छ । प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले शनिबार भरतपुर विमानस्थलमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
गत मंगलबार चितवन आएर काठमाडौं फर्कनु भएका अध्यक्ष प्रचण्ड शनिबार पुनः चितवन आउनु भयो । पछिल्लो पाँच दिनमा दोस्रो पटक चितवन आउनु भएका अध्यक्ष प्रचण्डले मन्त्री छनौटमा पार्टीभित्र कुनै समस्या नरहेको समेत बताउनु भयो । ‘पर्सी (सोमबार) तीन बजे शपथ ग्रहण हुन्छ, मन्त्रीपरिषदले पूर्णता पाउँछ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘आज (शनिबार) बिहानमात्र प्रधानमन्त्रीसँग मेरो कुराकानी भइसकेको छ । शपथ ग्रहण कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी गराइसकेका छौं ।’

मन्त्री छनौटमा पार्टीभित्र कुनै विवाद वा समस्या नरहेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पुराना र नयाँ अनुहार मिलाएर मन्त्री बनाउँछौं । भोलि (आइतबार) बेलुकासम्म सबै मन्त्रीको नाम टुंगिन्छ । चितवनबाट म सिंगै पार्टीको अध्यक्ष भइसकेपछि मन्त्री किन चाहियो ? मैले यसो भनेपनि चितवनले पनि मन्त्री पाउने सम्भावना छ ।’
मन्त्री छनौटमा पार्टीभित्र विवाद वा समस्या आएको भनी मिडियाले हचुवाको भरमा समाचार प्रेषित गरेको अध्यक्ष प्रचण्डले आरोप लगाउनु भयो । ‘हिजोआज मिडिया हल्काफुल्का हुन थाले’ उहाँले भन्नुभयो, ‘मिडियाले वास्तविकता बुझेरमात्रै लेख्नुप¥यो ।’ चितवनलाई तीन नम्बर प्रदेशको राजधानी बनाउने विषयमा चासो दिइएको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘चासो दिइएको छ । हेर्दै जाउँ, के हुन्छ ?’
कम्युनिष्टहरुको एकताबाट दुईतिहाई नजिकको बहुमतको सरकार बन्ने निश्चित भएपछि दासढुंगा वा राजदरबार घटनाजस्तै अर्को कुनै घटना हुन सक्ने सम्भावनातर्फ सबै सजग हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अर्को दासढुंगा वा राजदरबार घटना हुन सक्छ कि भनेर हेक्का राख्नुपर्छ, शतर्क रहनु पर्छ ।’

 

प्रतिक्रिया दिनुहोस