नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ विमर्श सुरु : प्रचण्ड

शुक्रबार, ११ फागुन २०७४, १६ : ३९
नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ विमर्श सुरु  : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ विमर्श सुरु भएको दाबी गरेका छन् ।
एमाले र माओवादी केन्द्रबीचको एकता प्रसंगलाई जोड्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामराज रेग्मीद्वारा लेखिएको नेपालको इतिहासमाः एक माक्र्सवादी दृष्टिकोण नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी–एमालेबीचको एकतालाई जनताले दुई तिहाई बहुमतद्वारा अनुमोदन गरिसकेको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, हामीले पार्टी एकताका विषयमा नयाँ विमर्श सुरु गरेका छौं, जनताले यसलाई दुई तिहाई बहुमतदुवारा अनुमोदन गरिसकेका छन्, यो एकता प्रक्रियाबाट अर्को वर्गले हार्दैछ, हामीले जित्दैछौ ।’
अध्यक्ष प्रचण्डले आफ्नो नेचर पुल भत्काएर अघि बढ्ने भएको दाबी गर्दै २०५२ सालमा जसरी अहिले पनि आफुले कम्युनिष्ट आन्दोलनभित्र क्रमभंग गर्दै पुल भत्काएर अघि बढेको समेत प्रस्ट पारे ।  
उनले भने, मेरो नेचर पुल भत्काएर अघि बढ्ने छ, ०५२ पनि पुल भत्काएर अघि बढे, अहिले पनि पुल भत्काएर अघि बढिरहेको छु ।’

मुलुक स्थायित्व र समृद्धितिर गएपछि प्रतिक्रियावादीहरुले षडयन्त्र समेत गर्न सक्ने बताउँदै उनले त्यो बेला मदन भण्डारी र दरबार हत्याकाण्डजस्ता घटनाहरु हुनसक्ने समेत उनले आशंका व्यक्त गरे । कार्यक्रममा झलक सुवेदी र मुरारी अर्यालले पुस्तकमाथि टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस