उपत्यका प्रवेश गर्ने सबै नाका सिल, अत्यावश्यक काम हुनेले आरडिटी रिपोर्ट देखाउनुपर्ने

विहीबार, ०८ जेठ २०७७, १३ : ३९
उपत्यका प्रवेश गर्ने सबै नाका सिल, अत्यावश्यक काम हुनेले आरडिटी रिपोर्ट देखाउनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गरेको छ। उपत्यकाभित्र कोरोनाभाइरसको जोखिम बढेको भन्दै मन्त्रालयले सबै नाका बन्द गर्ने निर्णयसहित स्थानीय सरकारलाई परिपत्र पठाएको हो।

गृह मन्त्रालयले उपत्यकाभित्रका स्थानीय तहहरूलाई पठाएको छ बुँदे परिपत्रमा अत्यावश्यक काम बाहेक उपत्यका प्रवेशमा रोक लगाउने उल्लेख छ।

‘कोरोनाको जोखिम देखिँदा अत्यावश्यक काममा बाहेक उपत्यका प्रवेश निषेध गर्ने। आगागमनको स्रोतमै रोक्ने,’ गृहले पठाएको परिपत्रको पहिलो बुँदामा भनिएको छ।

यस्तै उपत्यका प्रवेशका सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्णरूपमा सिल गर्ने गृहको निर्णय छ। ‘सबै नाका अत्यावश्यक प्रयोजनमा बाहेक पूर्णरूपमा सिल गर्ने। लुकीछिपी हुने प्रवेशहरू पूर्णरूपमा रोक लगाउने,’ गृहले स्थानीय तहलाई पठाएको दोस्रो बुँदामा भनिएको छ।

यस्तै उपत्यकाभित्र प्रवेश गर्न परे आफ्नै खर्चमा आरडिटी परीक्षण गरी रिपोर्ट देखाउनुपर्नेछ। ‘उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयम आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने,’ गृहको परपत्रमा भनिएको छ।

लुकीछिपी प्रवेश गरेकालाई खोजी गरी कारवाही गर्न पनि गृहले स्थानीय तहलाई आग्रह गरेको छ। गृहका शाखा अधिकृत गणेश तामाङले उक्त परिपत्र स्थानीय तहमा पठाएर नाका कडाइ गर्न भनेका हुन्।

गत जेठ १ गते गृह मन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकमा सहभागी उपत्यकाभित्रका मेयरहरूले नाका कडाइ गर्न माग गरेका थिए।