आज मन्त्रीपरिषद् विस्तार नहुने

शुक्रबार, ११ फागुन २०७४, १३ : १०
आज मन्त्रीपरिषद् विस्तार नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। आकांक्षी व्यवस्थापनमा समय लाग्ने भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो।

एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डा टुङ्गो लागिसकेको छ। एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्री बनाउने समझदारी यसअघि नै गरिसकेका छन्।

दुवै पार्टीले मन्त्रीका आकांक्षी व्यवस्थापन गर्न सकेका छैनन्।

प्रधानमन्त्रीका  प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मन्त्रिपरिषद् विस्तार आइतबारसम्म भइसक्ने बताए।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पार्टीले मन्त्री बन्ने व्यक्तिहरुको टुङ्गो नलगाइसकेको बताए। ‘आज मन्त्रिपरिषद् विस्तार हुदैँन, थापाले भने, ‘पार्टीले मन्त्रीको चयन गरिसकेका छैनन्।’

दुई दलबीचको सहमति नुसार एमालेले अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार, कानून न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय पाएको छ।

माओवादी केन्द्रले गृह, जलस्रोत तथा उर्जा, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास आवास खानेपानी तथा सरसफाई, वन तथा वातावरण, कृषि सहकारी तथा भूमी व्यवस्थापन, श्रम रोगजार तथा महिला बालबालिका मन्त्रालय पाएको छ।

माओवादीलाई गृह मन्त्रीका आकांक्षी व्यवस्थापनमा समस्या छ। रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र जनार्दन शर्माले गृहमा दाबी गरिरहेका छन्। त्यस्तै एमालेमा प्रदीप ज्ञवाली र ईश्वर पोखरेलले अर्थ मन्त्रालयमा चासो देखाएका छन्।

प्रतिक्रिया दिनुहोस