ठोरी आइपुगेका २४ नेपालीलाई भारततर्फ फिर्ता

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०७७, १४ : ५८
ठोरी आइपुगेका २४ नेपालीलाई भारततर्फ फिर्ता

फाइल फोटो

ठोरी। पर्साको ठोरी नाकामा आइपुगेका २४ जना नेपालीलाई भारततर्फ नै फिर्ता पठाइएको छ ।

मुम्बईबाट मजदुरी गर्ने उनीहरु पाँच दिन लगाएर आइतबार ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका थिए । तर उनीहरुलाई भारततर्फ नै फिर्ता पठाइएको छ । 

माथिल्लो तहबाट निर्देशन नआएकाले उनीहरुको उद्धार गर्न नसकिएको ठोरी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टले जनाएको छ । 

कोरोना संक्रमितको संख्या बढेसँगै प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । फिर्ता पठाइएका उनीहरुलाई सीमावर्ती नाका भिखनाठोरीबाट ६ किलो मिटर दुरीमा रहेको भारतीय गाउँ धमौरास्थित एक विद्यालयको क्वारेन्टाइनमा लगिएको छ ।

आइतबार राति उनीहरु भारतीय सीमा सुरक्षा बलको टोली आँखा छलेर नेपाल प्रवेश गर्न खोजेका थिए । तर सशस्त्र प्रहरीले थाहा पाएपछि उनीहरुलाई पुनः एसएसबीको जिम्मा लगाएको थियो ।

वैशाख ३१ गते मुम्बईबाट हिँडेका उनीहरु पाँच दिन लगाएर आइतबार सीमावर्ती बजार भिखना ठोरी आइपुगेका थिए । जसमध्ये चितवनका २१ जना, मकवानपुरका १ जना, नवलपरासीका १ जना र धनगढीका १ जना छ्न् । भारततर्फ पठाइएका २४ जना मध्ये २० जना चितवनको माडी नगरपालिकाका स्थानीय हुन् ।

प्रतिक्रिया दिनुहोस