‘कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउछु’ : अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी

शनिबार, ०३ जेठ २०७७, १० : ०९
‘कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउछु’ : अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने समेत बताएका छन् ।  

खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताउदैं उनले खोप बनाउने अभियानलाई दोस्रो विश्व युद्धका बेला विश्वको पहिलो परमाणु हतियार बनाउने प्रयास जस्तै ‘अपरेशन र्‍याप स्पीड’ रहेको  व्याख्या गरेका छन् । उनले खोप नबने पनि अमेरिकीहरु सामान्य जीवनमा फर्किन थाल्नु पर्ने उल्लेख गरेका छन् । ट्रम्पले लगातार यहि वर्षभित्र कोभिड–१९ को खोप वा औषधि पत्ता लाग्ने बताउँदै आए पनि विज्ञले भने खोप तयार हुन समय लाग्ने बताएका छन् ।

विश्वभर अहिले एक सय भन्दा बढी सम्भावित खोपमा काम भइरहेको छ । केही खोप तथा औषधिहरु मानवीय परीक्षणको चरणमा पुगेका छन् ।  यो अभियानमा कोरोना भाइरसविरुद्धको १४ वटा सम्भावित खोपको अनुसन्धान तथा त्यसका लागि अनुमति दिइने उनले बताए । यता अमेरिकी विज्ञहरुले खोप पत्ता लागेपछि मात्रै अमेरिकालाई पूर्ण रुपमा लकडाउन मुक्त बनाउन सकिने बताएका छन् ।

ट्रम्पले शुक्रबार भने, ‘म मानिसहरुले लकडाउन खुल्नका लागि खोप नै चाहिन्छ भन्ने सोचुन् भन्ने चाहन्नँ, खोप बने पनि वा नबने पनि हामीले लकडाउन खुलाउने प्रक्रिया थालिसकेका छौँ ।’उनले भनेका छन्, ‘धेरै अवस्थामा खोप हुँदैन, भाइरस वा फ्लू आउँछ र मानिसहरुले त्यससँग लड्छन् । केही अवस्थामा हामीले खोप कहिल्यै बनाउन सक्दैनौँ, र पनि भाइरस जान्छ ।’ ट्रम्पले विद्यालय पनि खुला गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस