काठमाडौँ । सरकारले आव्हान गरेसँगै विगत ५० दिन देखि बन्द रहेको धितोपत्र बजार आज (मंगलबार) बाट नियमित संचालनमा आउने भएको छ । लकडाउनका कारण धितोपत्र बजार चैत ११ गतेदेखि बन्द भएको थियो ।
नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले मङ्गलबारदेखि शेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो ।
बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।
धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिनेछ । धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
धितोपत्र बोर्डद्वारा विभिन्न पदमा आवेदन आह्वान
अर्थमन्त्री पौडेलले अघि बढाए धितोपत्रसम्बन्धी ऐन संशोधन प्रक्रिया (पूर्णपाठ)
धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान
केबीएल सेक्युरिटिजले थाल्यो धितोपत्र कारोबार