लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०७७, १२ : ३८
लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो । 

समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्ड अनुसार बनाउनुपर्ने, आइसोलेसन बेडहरु प्रयाप्त मात्रामा निर्माण गर्नुपर्ने, किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउनु पर्ने र उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज बनाउन समेत निर्देशन दिएको छ । 

समितिले विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरुलाई संक्रमण नियन्त्रण सम्बन्धी विश्वव्यापी मापदण्ड अनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

विदेशमा रहेका नेपालीहरुको समस्या समाधानका लागि प्रधानमन्त्री स्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने उपप्रधानमन्त्री एवं कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले बताए । 

गृहमन्त्री रामबहादुर थापाले भारतीय सीमा पारी करिब २१ सय नेपालीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिए । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारसँग उपलब्ध भएका परीक्षण किटहरुको आधारमा कन्ट्याक ट्रेसिङको मापदण्ड बनाई परीक्षण गरीएको बताए । 

उनले पछिल्लो केही दिन यता पीसीआर प्रविधिबाट गरीने परीक्षणलाई पनि बढाइएको बताए ।