अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी एक मुख्य सहयोगी कोरोना भाइरस सङ्क्रमित

एजेन्सी

शनिबार, २७ बैशाख २०७७, १७ : २४
अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी एक मुख्य सहयोगी कोरोना भाइरस सङ्क्रमित

बीबीसी । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी एक उच्च सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भोलिपल्ट पछिल्लो घटना देखिएको हो।

उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरमा शुक्रवार कोरोनाभाइरस पोजिटिभ देखिएको जनाइएको छ।

ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक परीक्षण गर्न थालेको छ र राष्ट्रपतिलाई सङ्क्रमणबाट जोगाउन "हरेक सुरक्षात्मक उपाय अवलम्बन गरिरहेको" कार्यालयले जनाएको छ।

सम्पर्क
अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या शुक्रवारसम्म ७६ हजार नाघेको छ।

अमेरिकाका कतिपय राज्यहरूले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन हटाउन अब शुरू गर्दैछन्।

शुक्रवार वाशिङ्गटन डीसीमा जहाज रोकिरहेको ठाउँबाट उपराष्ट्रपति पेन्सको टोलीका ६ जना सदस्यलाई अचानक विमानबाट ओर्लिन लगाइएको थियो। उनी आएवामा धार्मिक नेताहरूसँग भेटघाट गर्न जाँदै थिए।

परिचय नखुलाइएका स्रोतले जनाएअनुसार ती कर्मचारीहरू उपराष्ट्रपति पेन्सकी प्रेस सहयोगी मिलरसँग सम्पर्कमा थिए। केटी मिलर अमेरिकी राष्ट्रपति ट्रम्पका सहयोगी स्टेफन मिलरकी श्रीमती हुन्।

ह्वाइट हाउसमा रिपब्लिकनहरूसँगको एउटा बैठकमा राष्ट्रपति ट्रम्पले संवाददाताहरूलाई भने, "केटी एक असल महिला हुन्।"

"उनी लामो समयदेखि परीक्षणहरूमा खरो उत्रिएकी थिइन् र अहिले आएर कोरोनाभाइरस परीक्षण गर्दा उनमा पोजिटिभ देखियो।"

राष्ट्रपति कार्यालयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप फैलिन सक्ने सम्भावनाबारे संवाददाताहरूले प्रश्न गर्दा ट्रम्पले भने, "तपाईँले गर्न सक्ने भनेको सावधानीका उपायहरू अवलम्बन गर्ने हो र तपाईँले गर्न सक्नेमा उत्कृष्ट कुरा गर्नुपर्छ।"

यसअघि शुक्रवार ट्रम्पले आफूले मास्क लगाउन थालेको फक्स न्यूजलाई बताएका थिए।

परीक्षण
त्यसको एक दिनअघि राष्ट्रपतिलाई खाना पस्कने अमेरिकी जल सेनाका एक सदस्यमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

राष्ट्रपतिका अनुसार चार दिनअघि ती व्यक्तिको परीक्षण नतिजा निगेटिभ देखिएको थियो।

"यसकारण परीक्षणको नतिजा निगेटिभ आउँदैमा ढुक्क हुन सकिँदैन," राष्ट्रपति ट्रम्पले भने। यद्यपि अबउप्रान्त कर्मचारीहरूको दैनिक स्वास्थ्य परीक्षण गरिने उनको भनाइ थियो।

त्यसको केही समयपछि ह्वाइ हाउसकी प्रेस सेक्रेटरीले कर्मचारीहरूको सुरक्षाका लागि चालिएका कदमहरूको बचाउ गरिन्।

उनले भनिन्, "हामीले राष्ट्रपतिलाई सङ्क्रमणबाट सुरक्षित राख्नका निम्ति हरेक सुरक्षात्मक उपाय अवलम्बन गरिरहेका छौँ।"

राष्ट्रपति ट्रम्पका चीफ अफ स्टाफ मार्क मीडोजले पनि संवाददाताहरूलाई भने, "तपाईँ जान सक्ने अति सुरक्षित स्थानहरूमध्यो यो एउटा हो।"

ह्वाइट हाउसस्थित कोरोनाभाइरस टास्क फोर्सका अनुसार अमेरिकाले दैनिक दुई लाख ८० हजार व्यक्तिको परीक्षण गरिरहेको छ।

हालसम्म ८१ लाख व्यक्तिको परीक्षण गरिसकिएको उक्त टास्क फोर्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस