स्थायी समिति बैठक छल्न संसदीय दलको बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली

बुधबार, १७ बैशाख २०७७, १७ : ०५
स्थायी समिति बैठक छल्न संसदीय दलको बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउने तयारी गरेका छन् ।

पार्टीमा बढेको असन्तुष्टिको समाधान गर्न नेकपाका नेताहरुले स्थायी समिति बैठक बोलाउन गरेको मागको वेवास्ता गर्दै प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाउने तयारी थालेका हुन् । 

आज बुधबारका लागि बोलाइएको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको प्रस्ताव आउने भएकाले ओलीले संसदीय दलमा आफ्नो बहुमत जुटाएर संसदीय दलको बैठक बोलाउन प्रस्ताव लैजान खोजेको एक नेताले बताएका छन् ।

प्रतिनिधिसभामा नेकपाका हाल १७४ जना सांसद छन् । जसमा बहुमत सिद्ध गर्न ८८ जना सांसद चहिन्छ । त्यसका लागि उनले आफू निकटका नेताहरुलाई परिचालन गरेर संसदीय दलमा बहुमत सिद्ध गर्नेगरी सांसदहरुको हस्ताक्षर अभियान चलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमै बोलाएर सांसदहरुलाई हस्ताक्षर गर्न लगाएका छन् ।