भारत, चीन र राष्ट्रसंघमा राससको प्रतिनिधि राखिने

मंगलबार, ०८ फागुन २०७४, १८ : २७

काठमाडौँ । नेकपा (एमाले)का सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले छिमेकी भारत र चीन तथा संयुक्त राष्ट्र संघसँग सम्बन्धित समाचार संकलनका लागि ती देशहरुमा राष्ट्रिय समाचार समिति (रासस) को स्थायी प्रतिनिधि राखिने बताउनुभएको छ ।
संसदीय मामिलाका पत्रकारहरुसँग आज यहाँ आयोजित छलफल कार्यक्रममा सचिव भट्टराईले आफ्नो पार्टी नेतृत्वको सरकारले छिमेकी मुलुक र राष्ट्र संघमा राज्यको सञ्चार माध्यमको उपस्थितिका लागि त्यस्तो प्रतिनिधिको व्यवस्था गर्ने जनाउनुभएको हो ।
उहाँले वितगमा एमालेको सरकार हुँदा पनि त्यस्तो संयन्त्रका लागि पहल गरिए पनि पूरा नभएको उल्लेख गर्दै वर्तमान सरकारले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
निजी सञ्चार माध्यमको समेत कार्यालय हुन थालिसकेको भारत र चीनमा राज्यको सञ्चार माध्यमको उपस्थिति नहुँदा राज्य कमजोर हुने तथा नेपालबारे विदेशमा गलत सूचना प्रवाह भएको अवस्थामा समस्या पर्ने बताउनुभयो ।

‘सत्ताका विचौलिया कमजोर’
सचिव भट्टराईले वाम एकता प्रक्रिया शुरु भएसँगै अब मुलुकमा वाम प्रजातान्त्रिक र उदार प्रजातान्त्रिकबीच सिधा टक्कर हुने र सत्ताका विचौलिया (दलाल) तथा साना दलका नाममा हुने संसदीय अभ्यासको दुरुपयोग रोकिने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब व्यक्ति (सांसद्) को भन्दा पार्टीको भूमिका महत्वपूर्ण हुन्छ । संसदीय व्यवस्थालाई बदनाम गराउने कमजोर हुँदै जानेछन् । हालका साना पार्टीहरु पनि या वाम या काँग्रेसमध्ये एकतिर धु्रवीकृत हुँदै जानेछन् ।”
उहाँले नयाँ सरकारले सुशासन कायम, राज्य र नागरिकको सम्बन्ध विस्तार, छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध विकास, मुलुकका लगानीको वातावरण निर्माण, प्रतिपक्षीसँगको असल सम्बन्ध विकासमा ध्यान दिने स्पष्ट गर्नुभयो ।“विगतमा प्रतिपक्षमा हुँदा धेरै पीडा खेपेको अनुभव एमालेलाई छ तर यो पटक हामी काँग्रेसलाई त्यस्तो पीडा दिँदैनौँ, मिलेर काम गर्ने वातावरण बनाउँछौँ,” उहाँले भन्नुभयो ।एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रतिनिधिसभा सदस्यमा पहिलो पटक निर्वाचित भट्टराईले संसदीय व्यवस्थाको सुधारकै लागि भूमिका निर्वाह गर्ने अपेक्षा गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस