लकडाउनको फाइदा उठाउँदै रुख फडानी गरी काठ तस्करी

आइतबार, २३ चैत्र २०७६, १४ : ५४
लकडाउनको फाइदा उठाउँदै रुख फडानी गरी काठ तस्करी

– प्रकाश सिग्देल
नवलपुर । लकडाउनको समय गंैडाकोटमा ४६ वटा सालका रुख अवैधरुपमा काटिएको पाइएको छ । गैंडाकोट– ११ मा पर्ने  भेडावारी सामुदायिक वन र गैंडाकोट वडा नम्वर– १८ को बराहदेबी राष्ट्रिय वन क्षेत्रको सडकको दायाबाया पर्ने ४६ वटा सालका रुखहरु काटिएको भेटिएको हो ।

लकडाउनका बेला सवारी साधन पनि नचल्ने प्रहरी प्रसाशनको पनि नजर नजाने र सर्वसाधारणहरु पनि घरबाट बाहिर ननिस्किने भएपछि त्यही समयको सदुपयोग गरी वडा नम्वर– १८ का वडा अध्यक्षको निर्देशन र संलग्नतामा रुख काटिएको आरोप लागेको छ । 

भेडाबारी सामुदायिक वनका अध्यक्ष गुरुप्रसाद पौडेलले डिभिजन वन कार्यालय नवलपुरलाई लेखेको पत्रमा वडा नम्वर– १८ का वडा अध्यक्षको निर्देशनमा त्यहीका स्थानीयहरुलाई लगाई रुख काटिएको उल्लेख रहेको छ । वडा नम्वर– १८ का अध्यक्ष तिल बहादुर चितौरे हुन् ।

काटिएको भन्ने सूचना आफूहरुकोमा आएको र २२ गते वन कार्यालय कावासोती, गैंडाकोट वनका कर्मचारी, भेडाबारी सामुदायीक वनका पदाधीकारी, गैंडाकोट नगरपालिका ११ र १२ का अध्यक्षसहित को टोलीले स्थलगत निरीक्षण गर्दा भेडाबारी सामुदायिक वनको २६ वटा, बराहदेबी राष्ट्रिय वनको २० वटा गरी ४६ वटा सालका रुख काटिएको भेटिएको भेडाबारी सामुदायकि वनका अध्यक्ष गुरुप्रसाद पौडेलले बताउनु भयो । 

यो कार्यमा सडक निर्माण गर्ने ठेकेदार, गैंडाकोट १८ का  वडा अध्यक्ष र स्थानीयको संलग्नता रहेको उहाँको भनाई छ । कोरोना भाइरसको महामारी फैलिरहेकोे अवस्था र सरकारले लकडाउन गरेको फाइदा उठाउँदै अनियमित रुख फडानी गरेको भन्दै छानविन गरी दोषी हरुलाई पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न माग सहित सामुदायीक वनले डिभिजन वन कार्यालयलाई पत्र समेत लेखेको छ ।

यता वडा अध्यक्ष तिल बहादुर चितौरेले भने त्यहा काटिएको रुखका बिषयमा आफूलाई जानकारी नभएको र यो विषयमा कसैले केही जानकारी नगराएको बताउनु भयो ।

यता डिभिजन वन कार्यालय नवलपुरका प्रमुख पुणेश्वर सुबेदीले यो ठुलो अपराध भएको र यसको सत्यतथ्य छानबिन गरी कडाभन्दा कडा कारवाही गरिने बताउनु भयो । स्थलगत अवस्था हेर्दा समुहमै आएर काटिएको देखिएकाले यस्तो अपराधमा संलग्न जोकोही भएपनि कारवाही हुने उहाँको भनाइ छ ।

त्यस्तै नवलपुरका अन्य स्थानमा पनि काठ तस्करी भएको आफूहरुलाई जानकारी आएको र केही काठका गोलाइहरु नियन्त्रणमा लिइएको समेत उहाँले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस