पशुपतिमा दैनिक ४०० जनालाई निःशुल्क भोजनको व्यवस्था

सफल खबर संवाददाता

शनिबार, २२ चैत्र २०७६, १९ : ५९
पशुपतिमा दैनिक ४०० जनालाई निःशुल्क भोजनको व्यवस्था

फाईल फोटो

काठमाडौं । कोरोनाको जोखिमका कारण सरकारले गरेको लकडाउनका कारण समस्यामा परेकालाई राजधानीको पशुपतिनाथ परिसरमा दैनिक निःशुल्क भोजनको व्यवस्था गरिँदै आएको छ । 
कोराना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउनको घोषणा गरेपछि पशुपतिनाथ परिसरमा रहेको सुमार्गी भवनबाट साधुसन्तसहित ४०० जना सर्वसाधारणलाई निशुल्क भोजनको व्यवस्था गरिँदै आएको पशुपति क्षेत्र विकास कोषका सदस्य राजु खत्रीले जानकारी दिए । 

पशुपति क्षेत्रका साधु सन्तसहित लकडाउनका कारण गाउँ जान नपाएर काठमाडौंमै बस्न बाध्य भइ समस्यामा परेकाहरुलाई निःशुल्क भोजनको व्यवस्था गरिएको छ । 
निशुल्क भोजनका पशुपति क्षेत्र विकास कोषका प्रदीप ढकाल, सदस्य खत्रीलगायतले चामलको व्यवस्था गरेका छन् भने कालीमाटी तरकारी बजारका दुई जना व्यापारीले आवश्यक तरकारीको सहयोग गरेका छन् । यस्तै पशुपति एग्रोभेटका व्यापारीहरुले मरमसला सहयोग गरेका छन् । 

निशुल्क खाना सुमार्गी भवनका सञ्चालक सुनिल वैद्यको व्यवस्थापनामा बनाउने गरिएको छ भने त्यसका लागि वैद्यले नै केही कर्मचारी खटाइदिएका छन् ।