पूर्वी चितवनमा धार्मिक पर्यटकको ओइरो

आइतबार, ०६ फागुन २०७४, १५ : ००
पूर्वी चितवनमा धार्मिक पर्यटकको ओइरो

चितवन । युवा पुस्तामाझ लोकप्रिय प्रेम दिवस (भ्यालेन्टाइन डे) मनाउन यहाँ आएका युवा तन्नेरी फर्किन नपाउँदै पूर्वी चितवन धार्मिक पर्यटकले भरिभराउ भएको छ ।

तेस्रो पर्यटकीय गन्तव्य सौराहामा प्रेम दिवसमा आयोजना गरिएको खाना महोत्सव सकिएको पर्सिपल्ट सोही क्षेत्रको जिरौनामा कृष्ण प्रणामीहरुले आयोजना गरेको बृहत् धार्मिक कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लागेको हो ।

रत्ननगर नगरपालिका– ११ जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर (धर्मधाम) को स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको श्रीमद्भागवत कथा अनुष्ठानमा सहभागी हुन् धार्मिक पर्यटक भित्रिएका हुन् ।

झण्डै रु पाँच करोड लगानी गरेर यस क्षेत्रमा उत्कृष्ट मन्दिर निर्माण गरिएकाले पनि स्वदेशी र विदेशी भक्तजन यहाँ आएका हुन् । स्वर्णमहोत्सव एवं नवनिर्मित मन्दिर समुद्घाटन मूल समारोह समितिका संयोजक तिलकराज शर्माका अनुसार आज यहाँ आयोजित बृहत् धार्मिक ¥यालीमा चार सय भन्दा बढी भारतीय प्रणामी सहभागी भएका छन् ।

त्यसैगरी, क्यानडा, अष्ट्रेलिया, बेलायत र अमेरिकामा बसोवास गर्ने प्रणामी पनि कार्यक्रममा सहभागी भएका छन् । प्रणामीको मूल धर्मस्थल भारतको गुजरातबाट धर्माचार्य १०८ श्रीकृष्णमणिजी महाराजसहित १० जना पीठाधीश यहाँ आइसक्नुभएको सह–संयोजक श्याम बरालले जानकारी दिनुभयो ।

सहभागी भक्तजनमध्ये केहीलाई स्थानीय घरमा बसोवासको व्यवस्था गरिएको छ भने केही नजिकै रहेको सौराहामा बस्दै छन् । टाँडी र सौराहाका १६ वटा होटलमा सुलभ शुल्कमा बसोवासको व्यवस्था मिलाइएको बरालले बताउनुभयो ।

धार्मिक कार्य भए पनि यस क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि सहभागी हुने भक्तजनलाई सौराहा, चितवन राष्ट्रिय निकुञ्ज हुँदै मनिखोला, बुलबुले ताल, गैँंडा ताल, शान्तिकुञ्ज पार्क, सिराइचुली, उपरदाङगढी लगायतका क्षेत्रमा भ्रमण गर्न चाहने तीर्थालुलाई सोही अनुसारको व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।

धार्मिक महोत्सवमा सहभागी हुन आजसम्म १५ जिल्लाबाट प्रणामीहरु आइसकेका छन् । संयोजक शर्माका अनुसार भारतबाट मात्रै पाँच हजार प्रणामी आउने अनुमान छ । देशका विभिन्न जिल्लाबाट एक लाख हाराहारी तीर्थालु आउने अनुमान गरिएको छ ।

महायज्ञको पहिलो दिन आजको ¥यालीमा बकुलहर बजारबाट मन्दिरसम्म झण्डै ६ किलोमिटर भक्तजनको लाम रहेको युवा परिषद्का अध्यक्ष धर्मराज खनालले जानकारी दिनुभयो । ¥यालीमा सौराहा घुम्न आएका विदेशी पर्यटक पनि सहभागी भएका छन् । सो स्थलमा निर्माण गरिएको धर्मधाम मन्दिरको यही फागुन ८ गते उद्घाटन गरिँदैछ । महायज्ञ फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।(रासस)

प्रतिक्रिया दिनुहोस