जनमुखी सूचना नीति वनाउनुपर्नेमा जोड

आइतबार, ०६ फागुन २०७४, ०७ : ५५

गुलरिया, बर्दिया । लोकतन्त्रको सुदृढीकरण सूचनाको हकबाट हुने भएकाले त्यसका लागि जनमुखी सूचना नीति वनाउनुपर्ने आवश्यकतामाथि सहभागी वक्ताहरुले जोड दिएका छन् ।

साझेदारी विकास परियोजनाद्वारा शनिबार यहाँ आयोजित ‘सञ्चारसम्बन्धी’ एक दिवसीय कार्यशाला गोष्ठीमा उनीहरुले राम्रोसँग सूचना प्रवाह गर्न सकेमा नागरिकले सूचनाको हक उपभोग गर्न पाउने भएकाले यस क्षेत्रमा सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारुले सुशासन र पारदर्शीताका लागि महत्वपूर्ण सूचना उपलब्ध गराउनुपर्ने बताउँदै स्थानीय तहमा जनमुखी सूचना नीति वनाउन सञ्चारकर्मी र जनप्रतिनिधिको समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

बाँसगढी नगरपालिकाका प्रमुख शालीकराम अधिकारीले स्थानीय तहमा विभागीय कार्यालयले सूचना प्रवाह नगरेको हुँदा जनताहरु सूचनाबाट वञ्चित रहेको उल्लेख गर्दै सूचनाका प्रवाहका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरीले खोजपत्रकारिता गर्ने पत्रकारलाई नगरपालिकाले सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले एकीकृत सञ्चार योजना बनाउनु पर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

नागरिक समाज सञ्जालका अध्यक्ष बालकृष्ण वली र गैरसरकारी संस्था महासंघका अध्यक्ष विष्णु तिमिल्सेनाले स्थानीय तहले प्रभावकारी सूचना प्रवाहका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताउँदै जनमुखी सूचना नीति बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेन्द्र धितालले विकास र समृद्धिका लागि स्थानीय तहले सूचना लुकाउन नहुने बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस