प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालको राष्ट्रिय भेला शुरु

शनिबार, ०५ फागुन २०७४, १४ : २५
प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालको राष्ट्रिय भेला शुरु

भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेला भक्तपुरमा शुरु भएको छ ।
भेलाको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय तहमा आएपछि यसको गुणस्तर वृद्घि हुँदै गएको बताउनुभयो ।

गरी खाने शिक्षा नै प्राविधिक शिक्षा भएकाले अब प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुने विद्यालयले बजारमा बिक्न सक्ने गरी युवा तथा विद्यार्थीलाई तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमलाले देशलाई चाहिने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै पाठ्यक्रम विकास केन्द्र, प्राविधिक तथा व्यावसायिक शिक्षाको विद्यालय पाठ्यक्रम, उत्पादित जनशक्ति, देशमै खपत हुने गरी पाठ्यक्रम निर्माणको तयारीमा रहेको जानकारी दिनुभयो ।

उहाँले अहिले उत्पादन भइरहेका जनशक्ति विदेश पलायन भइरहेका तर देशमा भने काम गर्ने युवाको अभाव हुनुले पनि पाठ्यक्रममा सुधारको आवश्यकता देखिएको छ भन्नुभयो ।

भेलामा संघीय तथा स्थानीय तहमा प्राविधिक शिक्षाको स्थान, कक्षा थप, व्यावहारिक अभ्यास, नयाँ पाठ्यक्रम कार्यान्वयन, प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रशिक्षक तालीम प्राप्त उपलब्धिको स्थायित्व, विद्यार्थीको उच्च शिक्षामा प्रवेश लगायतका एजेण्डामा छलफल गरिनाका साथै प्रदेश र जिल्लास्तरमा समेत सञ्जाल निर्माणबारे विस्तृत बहस हुने सञ्जालका केन्द्रीय अध्यक्ष एवं पद्म उमाविका प्राचार्य राम हाडाले बताउनुभयो ।

सञ्जालका अध्यक्ष हाडाले भेलामा देशभरका प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुने सय विद्यालयका प्राचार्य वा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधि र सञ्जालका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

सञ्जालका सचिव ध्रुव गिरीले भेलाका क्रममा प्रदेश नं १ देखि ७ सम्मका बिद्यालयको समूहगत समस्या तथा सुझाव संकलन गरी निर्णय अभिलेखीकरण गरिने बताउनुभयो ।

सरकारले २०७० सालबाट एसएसआरपीको आधारमा कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षाको आधार मान्दै छनोटमा परेका विद्यालयमा सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोलिक्स इन्जिनियरिङ तथा कृषिसम्बन्धी प्राविधिक शिक्षा सञ्लनमा ल्याएको थियो । हाल देशभरका २८४ द्यिालयमा प्राविधिक, शिक्षा प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ भइरहेको सञ्जालले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस