कोरोना भाइरस (कोभिड–१९)

भयभित र आतंकित नबन्न स्वास्थ्यमन्त्रीको आग्रह

सफल खबर संवाददाता

आइतबार, ०२ चैत्र २०७६, १५ : १२
भयभित र आतंकित नबन्न स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौँ । राष्ट्रियसभाको आईतबारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भईरहेका प्रयासबारे जानकारी गराउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भयभित र आतंकित नबन्न सबैलाई आग्रह गर्नुभएको छ । 

अहिलेसम्म नेपालमा कोरोना भाईरसबाट एक जना पनि संक्रमित भएको नपाईएको जानकारी गराउदै उहाँले संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको स्पष्ट पार्नुभयो ।

मन्त्री ढकालका अनुसार, अहिले सम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरीएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् । २०२० जनवरी ९ तारिकमा नेपाल आएका विद्यार्थीले १३ तारिकमा परीक्षण गराउदा पोजेटिभ देखिएपनि १० दिन हस्पिटल बसाईपछि पुन परीक्षणमा नेगेटिभ देखिएको थियो ।

उहाँले कोरोना संक्रमणलाई मुलुकमा प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाईएको र एक अर्कामा हात मिलाउने , गला मिलाउने भन्दा पनि निश्चित दुरीबाट नमस्कार गर्ने, साबुन पानीले हात धुने लगायतका काम गर्न सर्वसाधरणलाई अपिल गरिएको बताउनुभयो ।

संभावित जोखिमलाई मध्यनजर गरि सरकारले उपत्यकाभित्र र बाहिर गरी २ सय ३५ वटा आईसीयु वेड थप्ने तयारी गरेको उहाँले स्पष्ट पार्नुभयो । हाल काठमाण्डौमा १ सय ७० वेडको आईसियु संञ्चालनमा छन् । उपत्यका भित्र १ सय २० र बाहिर १ सय १५ वटा गरेर २ सय ३५ वटा आईसीयुको व्यवस्था तत्काल गर्ने काममा भईरहेको उहाँले स्पष्ट पार्नुभयो । त्यसैगरी १ सय ५५ वटा आईसोलेटेड बेडको व्यवस्था गरेपनि संक्रमण फैलिएको अवस्थामा तीनवटा अस्पतालमा केन्द्रीत भई तीनै अस्पतालबाट कोरोना संक्रमणको मात्रै सेवा दिने गरि आवश्यक व्यवस्था मिलाउने गरि आअवश्यक औषधी र औजारहरुको जोहो गर्ने तयारीमा सरकार लागेको स्पष्ट पार्नुभयो ।

उहाँले सिडिओ र स्वास्थ्य कर्मीलाई जोखिमपुर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन गरिएको र अस्पतालमा कामगर्ने जनशक्ति र त्यससंग सम्बन्धीत व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका भय आतंकलाई हटाउनका लागि सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको बताउनुभयो ।

चीन बाहेकका मुलुकमा कोरोना संक्रमण फैलिदै जाँदा नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले आवश्यक सावधानी र सर्तकता अपनाउनका लागि सरकारले स्थलनाकामा स्वास्थ्यविन्दु स्थापना गर्नुको साथै हवाई नाका हुदै आउने तेश्रो मुलुकका नागरिक र नेपाली नागरिकले १४ दिन क्वारेन्टायनमा बस्न भनिएको स्पष्ट पार्नुभयो ।

विदेशबाट अत्यावश्यक नेपाल आउनुपर्यो भने एकसाताको खकार जाँचको रिपोर्ट हेरेर कोरोना संक्रमण नभएको प्रमाणित भएपछि मात्रै नेपाल प्रवेश गर्न दिने, विदेशी नागरिकको हकमा आफै क्वारेनटाइनमा बस्नुपर्ने र नेपालीहरुको हकमा होम क्वारेन्टाईनमा बस्ने व्यवस्था गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “प्रत्येक दिन ज्वरो नाप्ने । त्यसका मुख्य गरी ३ वटा इण्डिकेटर छन् । सुख्खा खोकी हुने, ज्वरो आउने भयो भने हामी अस्पतालमा चेक गर्छौ । चेक गर्दा त्यसको रिपोर्ट पोजेटिभ भो भने राज्यले सम्पुर्ण उपचारको जिम्मा लिन्छ । यदि त्यो भएन नेगेटिभ रिजल्ट आयो भने १४ दिन सम्म होमक्वारेन्टाईनमा बसेर सबैले राष्टको अप्ठ्यारोमा सहयोग गर्ने विश्वासका साथ यो नीतिलाई अगाडि बढाएका छौ । ”

समाजका  विभिन्न निकायका स्वयंम सेवकहरुलाई समेत संगठीत गरेर कोरोना संक्रमण हुन नदिने ढंगले सरकारले काम गर्ने उहाँले स्पष्ट पार्नुभयो । सरकारका कतिपय आन्तरिक तयारी बाहिर नआएकाले समाजमा भय, त्रास फैलने किसिमको वातावरण पनि भएको भन्दै उहाँले सरकारले आवश्यक तयारी र व्यवस्थापन गरिरहेकाले भयभीत नहुन आग्रह गर्नुभयो ।  

कुटनीतिक सम्बन्ध भन्दा बाहेकका भिषाहरु बैशाख १८ गते सम्मका लागि स्थगित गरिएको ,अन्तराष्ट्रिय क्षेत्रमा पढ्न जाने पुराना विद्यार्थीलाई रोक नलगाईएपनि नयाँ र श्रम स्वीकृति अनुमति दिने काम स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाँले हाल नेपालका १ सय २९ नाका मध्ये ४३ वटा नाकामा स्वास्थ्यविन्दु स्थापना गरिएको, छिमेकी राष्ट्रसंग जोडिएका १ सय २८ वटा स्थानीय तहलाई २१ बुँदे निर्देशन जारी गरि आवश्यक सावधानी अपनाउन भनिएको बताउनुभयो ।

कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको चैत ५ गते भित्र परीक्षा सकिने र त्यसपछि स्वतः १ महिना स्कुल बन्द रहने भएकाले कोरोना महामारीको २ ÷४ दिनको स्थिति हेरेर एसईई परीक्षा तालिका बारे निर्णय गरिने उहाँले स्पष्ट पार्नुभयो ।

अन्तराष्ट्रिय फोरमहरुमा भाग नलिने, स्वदेशमै पनि कार्यक्रम नगर्ने तथा अतिआवश्यक बाहेक भोजभतेर नगर्न आमसमुदायलाई आव्हान गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले फागुन १८ गतेको मन्त्रीपरिषद् बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा अधिकार सम्पन्न कोरोना रोग रोकथाम समन्वय समिति गठन गरको र यसले रोगसंग सम्बन्धीत सम्पुर्ण काम गर्ने व्यवस्था गरिएको दोहोर्याउनुभयो । उहाँले एकिकृत योजना बनाउनका लागि समन्वय समितिले आईतबार ७ वटै प्रदेशका मुख्य मन्त्री र सामाजिक विकास मन्त्री सहितको बैठकको आयोजना गरेको जानकारी दिनुभयो । सूचना एकिकृत ढंगले सम्प्रेषणको व्यवस्था मिलाइएको, मुख्य सचिवको नेतृत्वको टिमको दैनिक बैठक बस्ने र नेपाल संगै विश्वभरको कोरोना संक्रमणको अवस्था समेटेर  बुटेलिन निकाल्ने काम भईरहेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री ढकालले उमेर समुह अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेको अनुपात पनि जानकारी गराउनुभयो । कोरोना संक्रमण भएका मध्ये ९२ प्रतिशत सामान्य र ८ प्रतिशत विरामी जोखिम अवस्थामा रहेको देखिएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री ढकालका अनुसार, ८० बर्ष भन्दा माथिका व्यक्तिको मृत्यु दर १४ दशमलब ८ प्रतिशत, ७० देखि ७९ उमेर समुहमा मृत्यु दर ८ प्रतिशत , ६० देखि ६९ उमेर समुहकामा ३ दशमलब ६ प्रतिशत, ५० देखि ५९ सम्म १ दशमलब ३ प्रतिशत,४० देखि ४९ सम्म शुन्य दशमलब ४ प्रतिशत, १० देखि ३९ उमेर समुहमा शुन्य दशमलब २ प्रतिशत मृत्युको अनुपात रहेको तथा जन्म देखि ९ बर्ष उमेर समुहमा यो संक्रमण अपवादका रुपमा देखिएको छ ।

कोरोना भाईरस १ सय ५२ वटा मुलुकमा

पछिल्लो तथ्यांक अनुसार, चीनमा २०१९ को डिसेम्बर ३१ मा देखिएको कोरोना भाईरस अहिलेसम्म १ सय ५२ वटा मुलुकमा देखा परेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको दृष्टिले ४६ वटा मुलुक प्रभावित छन् । अहिले सम्म कोरोना भाईरसको संक्रमणबाट विश्वभर ५ हजार ८ सय ३९ जनाको मृत्यु भएको छ । १ लाख ५६ हजार व्यक्तिमा संक्रमण भएको, ७५ हजार ९ सय ३७ जना उपचार पछि घर फर्किएको तथा ७४ हजार ९ सय ९० जना अहिले पनि संक्रमित अवस्थामा नै रहेका छन् ।

कोरोना संक्रमणबाट इरानका ५५ बर्षिय सांसद पोतेमेयर रबाकको मृत्यु भएको छ । क्यानडाका प्रधानमन्त्रीको श्रीमती, अस्ट्रेलियाका गृहमन्त्री, बेलायतका स्वास्थ्यमन्त्री ,इरानको उपराष्ट्रपति र स्वास्थ्यराज्यमन्त्रीमा कोरोना संक्रमण देखिएको छ भने मंगोलियका राष्ट्रपति चीन भ्रमण पछि १४ दिन सम्म होमक्वारेन्टाईनमा बस्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस