कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन आज सार्क सदस्य राष्ट्रहरुबीच भिडियो वार्ता

सफल खबर संवाददाता

आइतबार, ०२ चैत्र २०७६, ११ : ४४
कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन आज सार्क सदस्य राष्ट्रहरुबीच भिडियो वार्ता

फाइल फोटो

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य राष्ट्रहरुले आज भिडियो कन्फरेन्समार्फत् छलफल हुने भएको छ ।  भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ सवा पाँच बजे हुने बताइएको छ । 

भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं सहभागी हुनेछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सहभागी हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयभित्र रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो वार्तामा सहभागी हुनेछन् । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले सार्क देशहरुले कोरोनाविरुद्ध लड्न साझा रणनीति बनाउन भिडियो वार्ता हुने र सकारात्मक परिणाम निकाल्ने बताए । 

भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेछन् । त्यसपछि एकीकृत रणनीति बनाउने योजना बना
इएको छ ।

यसअघि मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् सार्क सदस्य राष्ट्रहरुले कोरोनाविरुद्धको लडाइँमा एकीकृत योजना बनाउन प्रस्ताव गरेका थिए । उनको यो प्रस्तावमा नेपालसहित सबै सदस्य राष्ट्रहरुले सहमति जनाएका थिए ।
भिडियो कन्फरेन्समा पाकिस्तान पनि सहभागी हुने बताइएको छ ।

सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ । भारत र पाकिस्तानको द्वन्द्वका कारण निष्कृय रहेको सार्क कोरोनाको कारण फेरि सक्रिय बन्न सक्ने लक्षण देखिएको छ ।