काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको फैसलाबमोजिम फेवातालको अधिकतम क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गर्नुभएको छ । उच्च अदालत बार एसोसिएसन पोखराद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले तालभित्र कुनै व्यक्तिको जग्गा परेको भए पनि अधिग्रहण गरी पहिलेकै अवस्थामा ल्याउन आफूले नेपाल सरकारका मुख्यसचिवलाई सल्लाह दिएको बताउनुभयो ।
ताल बचाउन केही समय पहिला सर्वोच्चले गरेको फैसला कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले तालको सौन्दर्य फैसला गरेर मात्र नहुने र यसको संरक्षण सबै नागरिक तथा सरोकारवाला निकाय सक्रिय हुनुपर्ने सुझाव दिनुभयो ।
नापीका महानिर्देशकलाई खटाएर तालको वास्तविक नापी भइसकेको जानकारी दिँदै उहाँले फरक–फरक नापीमा समान क्षेत्रफल नआएको बताउनुभयो । भारतले गरेको हवाई सर्वेक्षणमा देखिएको ताल, यहाँ देखिएको नापीको नक्साको ताल र हालको नाप समान नभए पनि अधिकतम क्षेत्रफल कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कुनै पनि न्यायाधीशले बद्नियत, ढिलासुस्ती र अनियमितता गरेको पाइए छुट नदिइने स्पष्ट पार्दै प्रधानन्यायाधीश राणाले आफ्नो ज्ञान र विवेकलाई आत्मसात् गरी स्वाभिमानी र आत्मज्ञानी भई संविधान प्रदत्त कानुनी अधिकार प्रयोग गरी न्यायसम्पादन गर्न आग्रह गर्नुभयो ।
न्यायप्रणाली सुधार गरेर लैजाने आफ्नो लक्ष्य भएकाले अदालतभित्रका कर्मचारी र न्यायाधीशका बारेमा गलत कुरा भएमा कानून व्यवसायीले पनि निर्धक्क भई बाहिर ल्याउन उहाँले आग्रह गर्नुभयो ।
अडियो भिडियोमार्फत बहस पैरवी गर्ने प्रविधिको विकास गर्ने बताउँदै उहाँले प्रविधिले फड्को मारिसकेको वर्तमान अवस्थामा देशको न्यायप्रणालीलाई छिटोछरितो बनाउन प्रविधिको विकल्प नभएको उल्ल्ेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ फागुन २०७६, २० : ३३
लेखकबाट थप