पार्टी छाड्न ओलीलाई चुनौति

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०७६, ०८ : ५७
पार्टी छाड्न ओलीलाई चुनौति

काठमाडौँ । नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय मान्नैपर्ने बताएका छन् ।  एक पत्रिकासँगको अन्तर्वार्तामा उनले पार्टीको निर्णय सबै नेता कार्यकर्ताले मान्नुपर्ने भन्दै पार्टी निर्णयको खिलापमा जाने छुट कसैलाई पनि नभएको बताएका हुन् । 

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय नेकपाको सचिवालयबाट सर्वसम्मत अनुमोदन भएको खनालको भनाइ छ । यो निर्णयमा प्रधानमन्त्रीको समर्थन रहेको तर पछि एकाएक निर्णय नमान्ने कुराले चकित बनाएको उनको भनाइ छ ।  निर्णय भएको केही घण्टापछि ओलीले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य नबनाउने र युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएको समाचार बाहिर आएका छन् । 

यसबारे खनालले भनेका छन्–पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन । कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्‍यो । नेकपाको अध्यक्ष हुने, अनि पार्टीको निर्णय नमान्ने हुन्छ त रु
निर्णयबाट असन्तुष्ट प्रधानमन्त्री ओलीले बुधबार निर्णयको केहीबेरमै वरिष्ठ नेता माधव नेपाललाई बोलाएर सचिवालयको निर्णय कार्यान्वयन नगर्ने सन्देश दिएका थिए । 

प्रधानमन्त्री ओलीका विश्वासपात्र अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ । उनको ठाउँमा नेता गौतमलाई मनोनीत गर्ने सचिवालयको निर्णयमा प्रधानमन्त्री ओलीको आपत्ति छ । खतिवडालाई नै निरन्तरता दिने उनको इच्छा छ । यसबारे उनले नेता नेपाललाई स्पष्ट बताएका छन् । 

‘वामदेवलाई राष्ट्रिय सभामा ल्याउने होइन, युवराज खतिवडालाई हटाउने षड्यन्त्र हो । यो निर्णय म मान्दिनँ, सरकारको अधिकारको कुरा हो,’ स्रोतका अनुसार नेता नेपाललाई प्रधानमन्त्री ओलीले भनेका थिए । यो षड्यन्त्रमा केही व्यापारी पनि मिलेको उनको दाबी थियो । यस विषयले नेकपाभित्र बबन्डर सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस