काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरमा काम गर्ने विजय चौधरीले हत्या गरेको दृष्य सीसीटीभीमा देखिएको छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि आक्रमण गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
फुटेजमा यस्तो देखिन्छ
प्रहरीका अनुसार सीसीटीभी फुटेजमा बिहान १० बजे चौधरी भान्सा कोठामा जान्छन् । त्यतिबेला पूर्वसचिव कार्कीकी श्रीमती मुना भान्साकोठामा नै हुन्छिन् । मुनाले पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिन्छ । भुइँमा लडेपछि पिर्का प्रहार गरेको भेटिन्छ । कपाल समातेर भुइँमा बजारेको पनि देखिएको छ ।
मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए ।
कार्कीको घरमा कार्यरत कामदार २२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ । यद्यपि, दुईबीच के रिसिइबी थियो भन्ने खुलिसकेको छैन ।
प्रहरीले हत्याको कारण खोज्दै विभिन्न व्यक्तिसँग वयान लिने क्रम जारी राखेको छ ।
छिमेकीका अनुसार चौधरीलाई कार्की परिवारले सानैदेखि घरमा राखेको थियो । प्रहरीका अनुसार घटना हुँदा पूर्वसचिव कार्की घरमा थिएनन् । उनी बिहानजै उठेर पशुपतिनाथको दर्शन गर्न गएका थिए । फर्किएर आउँदा उनले श्रीमती मुनालाई अचेत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ माघ २०७६, १६ : ५३
लेखकबाट थप