आफ्ना नागरिकमाथि घातक हतियार प्रयोग भए सिरियामा हमला

बुधबार, ०२ फागुन २०७४, १४ : ३२
आफ्ना नागरिकमाथि घातक हतियार प्रयोग भए सिरियामा हमला

संयुक्त राष्ट्रसंघ । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोले सिरियाको सेनाले आफ्ना नागरिकलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरिरहेको पाइएमा फ्रान्सले सिरियामाथि नै हमला गर्ने चेतावनी दिनुभएको छ ।

सिरियाली सेनाले विपक्षीलाई दबाउने नाममा यस्ता हतियार प्रयोग गर्दै आएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला उहाँको यो प्रतिक्रिया आएको हो ।

उहाँले भन्नुभएको छ – यदि कुनै पनि फ्रान्सेली नागरिकमाथि यस्तो हमलाको प्रमाण फेलाप¥यो भने हामी बाँकी राख्दैनौँ, यस्तो खालको आक्रमणको तयारी गर्ने स्थानमा नै हामीले हमला गर्नेछौँ ।

प्रतिबन्धित रासायनिक अस्त्रको प्रयोग गरिएको भन्ने समाचारको पुष्ट्याईँका लागि फ्रान्सेली गुप्तचर निकायले अनुसन्धान गरिरहेको बताइएको थियो । तर सो अनुसन्धानको परिणाम भने आइसकेको छैन ।

सिरियाली सेनाले गएको जनवरी महिनायता आएर मानव स्वास्थ्यका लागि घातक मानिने क्लोरिन ग्यासयुक्त आक्रमण गर्ने गरेको तथ्यहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा फ्रान्सेली राष्ट्रपतिको यो टिप्पणी सार्वजनिक भएको हो ।

विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको हामा प्रान्तको एक सहरमा यसै महिनाको सुरूमा रसायन भएको एउटा बम खसालिएको थियो । सोही बमका कारण यहाँका नागरिकमा श्वासप्रश्वासमा समस्या देखिएको समाचार पनि यसअघि नै आएको थियो । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस