कोरोना भाइरस : चीनमा ६२ अर्ब डलर क्षति हुने

एजेन्सी

सोमबार, २० माघ २०७६, १३ : २४
कोरोना भाइरस : चीनमा ६२ अर्ब डलर क्षति हुने

एजेन्जी । चीनमा अहिले कोरोनाभाइरसको प्रकोपले ठूलो रुप लिएको छ । प्रकोपका कारण कैयौँ सहर र तिनको आर्थिक कारोबार ठप्प हुँदा यसको आर्थिक प्रभाव पनि हुनेछ । अहिले क्षतिको पूर्णस्तर मापन गर्न सकिने अवस्था छैन ।

तर चीनको एक सरकारी सञ्चारमाध्यम र केही अर्थशास्त्रीले प्रकोपको कारण पछिल्लो त्रैमासिकमा चीनको आर्थिक वृद्धिमै दुई प्रतिशतसम्म गिरावट आउनसक्ने बताएका छन् ।

त्यो स्तरको आर्थिक ह्रासले चीनलाई ६२ अर्ब अमेरिकी डलरको आर्थिक क्षति पु¥याउनेछ । 

चीनले कोरोनाभाइरसको प्रकोपसँग लड्नको लागि प्रधानमन्त्री लि खछङको नेतृत्वमा भाइरस नियन्त्रण निकाय गठन गरेको छ ।

यस निर्णयबाट सरकारले भाइरस नियन्त्रणलाई ‘प्राथमिकतामध्ये पनि प्राथमिकता’मा राखेको देखिन्छ ।

हालसम्मका नीति निर्माताले रोगको तीव्र विस्तारबाट सबैभन्दा बढी प्रभावितहरु सहयोग गर्न केही कदम उठाएका छन् ।

केन्द्रीय तथा स्थानीय सरकारले हालसम्म चिकित्सकीय उपचार र उपकरणको लागि १२.६ अर्ब अमेरिकी डलर खर्च गरिसकेका छन् ।

प्रमुख बैङ्कले साना व्यवसाय र व्यक्तिको व्याज दर घटाएका छन् । बैङ्क अफ चाइनाले रोगबाट सबैभन्दा प्रभावित भएको वुहान सहर र हुवेई प्रान्तका मानिस रोगबाट प्रभावित भएको देखिएमा तिनले ऋण तिर्ने समयसीमा केही महिना वृद्धि गर्ने बताएको छ ।

कोरोना महामारीबाट अर्थतन्त्रलाई बचाउनको लागि चीनको केन्द्रीय बैङ्कले वित्तिय प्रणालीमा १२ खर्ब युवान (१३० अर्ब डलर) लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

पिपुल बैङ्क अफ चाइनाले सोमबारबाटै यस सम्बन्धी कार्यक्रम सञ्चालन हुने बतायो । बैंकले आफूहरु स्थिर मुद्रा र बैङ्किक प्रणालीमा ‘तर्कसंगत र प्रयाप्त तरलता’ प्रत्याभूत गराउन लागेको बताए ।’