नेकपा सचिवालय बैठक बस्दैं, आजै केन्द्रीय समिति बैठक सक्ने तयारी

सफल खबर संवाददाता

आइतबार, १९ माघ २०७६, ०९ : २२
नेकपा सचिवालय बैठक बस्दैं, आजै  केन्द्रीय समिति बैठक सक्ने तयारी

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ । ५ दिन यता जारी केन्द्रीय समिति बैठकमा उठेका समुहगत रुपमा प्रतिवेदनमाथी नेताहरुले सुझाव राखेपछि उठेका प्रश्नहरुको जवाफ दिने र बैठक आजै सक्ने तयारीमा रहेको नेकपाले त्यसैको तयारीका लागि अहिले सचिवालय बैठक बस्ने तयारी गरेको हो ।

बैठक केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुनेछन् ।ओली यस अगाडी केन्द्रीय समिति बैठकको उदघाटन सत्रमा आफनो मन्तब्यका लागि मात्र सहभागी थिए । त्यसयता उनी बैठकमा सहभागी छैनन् ।

आजको बैठकमा नेताहरुले उठाएका प्रश्नहरुको जवाफ दिन उनी जाने नजाने भन्ने विषयमा पनि सचिवालय बैठकमा छलफलपछि निर्णय हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालय बैठक पछि दिउँसो १ बजे पार्टी केन्द्रीय समिति बैठक बोलाईएको छ । 

केन्द्रीय समिति बैठकमा नेताहरुले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) एजेण्डा नरहेपनि नेताहरुले यसको पक्ष विपक्षमा चर्काे बहसमा उत्रेपछि त्यस विषयमा के गर्ने भन्नेमा पनि सचिवालयमा छलफल हुन सक्ने सचिवालयका अर्का एक नेताले बताए ।

यस अगाडी नै यस विषयको निरुपणका लागि पार्टी स्थायी समितिले केन्द्रीय सचिवालयलाई आवश्यक छलफल गरि निर्णय लिने जिम्मा दिएको थियो । तर सचिवालयले अहिलेसम्म यस विषयमा धारणा नल्याएकोले यस विषयमा केन्द्रीय सदस्यहरु पक्ष विपक्षमा बहसमा उत्रिएका हुन् ।

बैठकमा धेरै नेताहरुले यसको अध्ययनका लागि विज्ञसहितका अध्ययन कार्यदल बनाउनु पर्ने माग उठाएका छन् । सोही अनुसारको कार्यदल बनाउने या के गर्ने भन्नेमा पनि सचिवालयमा कुरा उठ्न सक्ने ति नेताले बताए । सम्भवतः ओली केन्द्रीय समिति बैठकमा जवाफ दिन जाने छैनन् । अध्यक्ष प्रचण्डले नै पार्टी नेताहरुले उठाएका प्रश्नहरुको जवाफ दिने छन् ।

चिवालय बैठकको तयारी र केन्द्रीय समिति बैठकको समापनका विषयमा बिहान प्रचण्ड निवास खुमलटारमा महासचिव विष्णु पौडेल र अध्यक्ष प्रचण्डका बिचमा सामान्य छलफल समेत भएको स्रोतले बताएको छ ।   

नेकपाले २१ महिनापछि पार्टीको केन्द्रीय समिति बैठकको आयोजना गरेको थियो । बैठकले पार्टीको अभियान ठोस गर्दै आगामी २०७७ भदौं देखि मंसिरसम्म स्थानिय र प्रदेश कमिटिको अधिवेशन सक्ने र चैत २५ देखि ३० सम्म पार्टीको महाधिवशेन सम्पन्न गर्ने कार्यतालिका सहित बैठक सम्पन्न गर्ने छ ।

प्रतिक्रिया दिनुहोस