रंगशाला निर्माणमा धादिङ गल्छी गाँउपालिकाको सय टिपर बालुवा सहयोग

सफल खबर संवाददाता

शनिबार, १८ माघ २०७६, १९ : ००
रंगशाला निर्माणमा धादिङ गल्छी गाँउपालिकाको सय टिपर बालुवा सहयोग

उर्गेन तामाङ

 चितवन । चितवनको भरतपुरमा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई धादिङको गल्छी गाँउपालिकाले सय टिपर बालुवा सहयोग गरेको छ । गाँउपालिका अध्यक्षसहितको टोली डवलवास बालुवा बोकेको टिपरलिएर रंगशाला निर्माणस्थल पुगेको थियो । 

गाँउपाकिलाका अध्यक्ष कृष्णहरी श्रेष्ठले आज दिउँसो रंगशालामा पुगेर धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई बालुवा हस्तान्तरण गरेका हुन  । धादिङबाट विहान हिडेको बालुवा बोकेर सय वटा टिपर दिउसो रंगशाला पुगेको थियो । 

गल्छी गाँउपालिकामा उत्खनन गरीएको बालुवा रंगशाला निर्माणमा निशुल्क सहयोग गरीएको अध्यक्ष श्रेष्ठले बताए । चितवनमा बने पनि रंगशाला नेपालकै सम्पत्ती भएकाले निर्माण सम्पन्न गर्न सवैले सहयोग गर्नुपर्ने श्रेष्ठको भनाई थियो ।  उनले देशभरका सवै स्थानिय सरकारले अपनत्व ग्रहण गरेर सकेको सहयोग गरे मौलिकपनसहितको रंगशाला चाँडै देख्न पाईने बताए । 

धादिङबाट रंगशालासम्म बालुवा ढुवानीका लागी नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले सहयोग गरेको थियो । जसका लागी निर्माणको नेतृत्व गरीरहेको फाउण्डेसनले टिप्परको तेल खर्च व्यहोरेको थियो । 

नेपालमै बन्दै गरेको गौरवको रंगशाला बनाउन टिपर व्यवसायीको तर्फबाट पनि सकेको सहयोग गर्ने अभियान अन्तर्गत बालुवा ढुवानीमा सहयोग गरीएको समितिका अध्यक्ष राम कुमार चापागाइले बताए । 

फाउण्डेसनका अध्यक्ष धुर्मुसले गल्छी गाँउपालिकाले जसरीनै सवै स्थानिय सरकारले सहयोग गर्ने क्रम चलीरहेकाले सवै नेपालीले अपनत्व ग्रहण गरे निर्धारीत मितिमै रंगशाला ठड्याउने बताए ।  यसअघि हेटौडा उपमहानगरपालिकाले पनि नगद सहयोग गरेको थियो । 

बालुवा हस्तान्तरण कार्याक्रममा प्रदेश सांसद विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, यातायात व्यवसायी लगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।  तेस्तै टिपर चालकहरुले रंगशालास्थलमै संकलन गरी ८० हजार नगद सहयोग हस्तान्तरण गरेको थियो । उनले टिपर चालकहरुलाई ज्यानमाराको रुपमा लिनेगरेको भन्दै दुख पनि व्यक्त गरे । 
 

प्रतिक्रिया दिनुहोस