कोरोना भाइरस : मर्नेको संख्या १०६ पुग्यो, भाइरसबारे विश्वभर चिन्ता

एजेन्सी

मंगलबार, १४ माघ २०७६, १२ : ५१
कोरोना भाइरस : मर्नेको संख्या १०६ पुग्यो, भाइरसबारे विश्वभर चिन्ता

काठमाडौं । कोरोनाभाइरसको प्रकोपले चीनमा महामारीको रुप लिएपछि विश्वभरका स्वास्थ्य अधिकारीमा यसको चिन्ता बढेका छ । विश्वभरका आम मानिसमा यो भाइरसबारे अज्ञानता, चिन्ता देखिन्छ ।

चीनमा कोरोनाभाइरसको संक्रमणका कारण मङ्गलबार मर्नेको संख्या १०६ पुगिसकेको छ भने कम्तिमा ४५२० जनामा संक्रमण प्रमाणित भएको छ । 
त्यस्तै रोगका संक्रमण थप नयाँ देशमा देखापर्ने क्रम बढेको छ । कोरोनाभाइरसको प्रकोप अहिले जुन मौसममा सुरु भएको त्यसले पनि यसको नियन्त्रणलाई कठीन बनाएको छ । 

चीन र उत्तरी गोलार्दमा रहेको देशमा अहिले चिसो मौसम चलिरहेको छ । यो मौसम भाइरस विस्तारको लागि निक्कै सहायक हुनेगर्छ ।

विशेष गरेर स्वासप्रश्वाससम्बन्धी अङ्गमा लाग्ने भाइरसको विस्तारको लागि लागि यो सबैभन्दा उपयुक्त मौसम हो । एकातर्फ चिसो हावाले भाइरसलाई स्तिर राख्न सहयोग गर्छ भने न्युन आद्रताले तिनलाई लामो समय हावामा ‘तैराई’ राख्छ । 

अर्को कुरा चिसो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि ह्रास आउँछ । जुन अवस्था भाइरस सहजै शरिरमा प्रवेश गर्छ । 

यात्रा खोप सेवा प्रदायक प्राक्टियोका सह–सस्थापक डा. जोनास निल्सेन कोरोनाभाइरस गर्मीमा स्वतः कमजोर हुने बताउँछन् । बेलायती पत्रिका डेली एक्सप्रेससँग कुरा गर्दै निल्सेनले भने, ‘कोरोनाभाइरसको लागि न्यानो मौसम उपयुक्त हुदैन । त्यसले गर्दा गर्मी सुरु भएपछि कोरोना भाइरसको विस्तार आफै घट्नेछ ।’

‘हामीलाई लाग्ने रुघाखोकी पनि कारोनाभाइरसका अन्य प्रजातिले लगाउने हुन् । रुघाखोकी पनि जाडो मौसममा धेरै लाग्ने गर्छ । जाडोमा नाकको झिल्ली कमजोर हुन्छ र भाइरस सजिलै हाम्रो शरीरमा प्रवेश गर्छ,’ डा. निल्सेनले भने । 

डा. निल्सेनले यात्रुलाई भाइरसको विस्तारको समयमा अपनाउनु पर्ने कैयौँ सावधानीको सुझाव पनि दिए । उनका अनुसार भाइरसको विस्तारबाट बच्न श्वास पश्स्वाससम्बन्धी संक्रमणबाट ग्रसित व्यक्तिबाट टाढै रहनुपर्छ । 

त्यस्तै मासु बेचविखन हुने बजारबाट पनि टाढा रहनुपर्छ र राम्रोसँग नपाकेको मासु खान हुँदैन । त्यतिकै महत्त्वपूर्ण तारन्तर साबुन पानीले हात धुनु पनि हुन्छ । 

‘अध्ययनमा भाइरसको विस्तार रोक्न मास्क पनि महत्त्वपूर्ण देखिएको छ । धेरै मानिस भएको स्थानमा जानैपर्ने भएमा मास्कको प्रयोग गर्नुपर्छ,’ डा. निल्सेनले भने ।

प्रकोप डरलाग्दो अवस्थामा पुगेपनि विश्व स्वास्थ्य संगठन अहिले नै विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने अवस्थामा नआएको बताएको छ । 

तर विश्व स्वास्थ संगठनको पछिल्लो बैठकले प्रकोप पुगेको देशलाई भने चेतावनी दिएको छ, ‘ती देशले मानव–संक्रमण घटाउन विशेष जोड दिनुपर्छ । त्यस्तै ती देशले रोगको अन्तराष्ट्रिय प्रसार नियन्त्रणमा समेत जोड दिदैं भाइरसबारे जनचेतना विस्तार र अनुसन्धान विस्तारमा सहकार्य गर्नुपर्छ ।’