बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

सफल खबर संवाददाता

मंगलबार, १४ माघ २०७६, ११ : ५१
बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधिन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा फेरि अवरोध आएपछि सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले निर्माण स्थलको फेरि छड्के अनुगमन गरेका छन् । 

उपत्यकाको फोहर व्यवस्थापनमा कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडामा निर्माण कार्य थप्प भएपछि मन्त्री मानन्धर सडक विभागका इन्जिनियरहरुसहित निर्माण स्थल पुगेका हुन् । 

बन्चरेडाँडालाई मेलम्ची-२ बनाउन खोज्नेहरु सलबलाईरहेको बताउँदै मन्त्री मानन्धरले राज्यको लगानीमाथि खेलवाड गर्नेहरुलाई कारबाही गरिछाड्ने बताएका छन् । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न र प्रधानमन्त्रीको सपना साकार पार्न यो परियोजना तोकिएकै समयमा सक्नुको विकल्प नभएको बताउँदै मन्त्री मानन्धरले आयोजनालाई दुहुनो गाई बनाउन खोज्नेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । 

'मेलम्ची खानेपानी आयोजना सकिन कति वर्ष लाग्यो? यस अघि दर्जनौं सरकार आए, तर कम्युनिस्ट सरकारहरु नै जनताप्रति उत्तरदायी भएर काम गरेको ईतिहाँस छ ।' मन्त्री मानन्धरले भने- ' चरेडाँडालाई पनि मेलम्चीकै हालतमा पुर्याउन खोज्नेहरु सलबलाईरहेका छन् । अब मेलम्चीको पानी काठमाडौंमा आउन रोक्नेहरुको र बन्चरेमा फोहर व्यवस्थापनमा अवरोध गरेर उपत्यकालाई सर्वसम्पन्न सहर निर्माण हुन नदिनेहरुको दिन सकिए । किनकी नेपालमा नेकपाको सरकार छ । हामी जनताको सेवक हौं ।' 

मन्त्रीसहितको टोली पुग्दा निर्माण स्थलमा क्रसर उद्योगले गिटी, बालुवा र ढुंगा पैठारी गरिरहेको पाईएको छ । ल्याण्डफिल्ड साइट निर्माण गरिरहेको सहरी विकास तथा भवन निर्माण विभागको हेलचक्राईंका कारण निर्माण स्थलमा अवरोध आएको स्थानीयले आरोप लगाएका छन् । 
गत पुस पहिलो साता मन्त्री मानन्धरसँगै बन्चरेडाँडा पुगेका सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल र आयोजना निर्देशक पदम मैनालीले फागुन पहिलो साताभित्र फोहर व्यवस्थापन गर्नेगरी तीन सिफ्टमा काम गर्ने प्रतिवद्वता जनाएका थिए ।  तर विभागकै कारण काम रोकिएपछि स्थानीय थप आक्रोशित बनेका छन् । 

सोमबार मध्यान्ह मन्त्री मानन्धरसँगै सडक डिभिजन कार्यालय काठमाडौंका डिजी कुबेर नेपाली, इन्जिनियर अशोक शाक्य र मधुसुदन लामिछाने पनि पुगेका थिए । 

बन्चरेडाँडासम्म पुग्ने सडक पिच तत्काल गर्नेगरी काम अघि बढाइएको नेपालीले बताए । बन्चरेडाँडा पुग्ने छोटो दुरीको सडक निर्माणका बारेमा पनि अध्ययन थालिने छ । 
उपत्यकाको फोहर व्यवस्थापनमा चासो दिँदै आएका मन्त्री मानन्धरले कामलाई तिब्रता दिन आयोजना प्रमुखसहित ठेकेदार कम्पनिलाई पटक पटक निर्देशन दिएका छन् । 

मन्त्री मानन्धर गत बिहीबार पनि एक्लै आयोजना स्थल पुगेका थिए । मन्त्री मानन्धरले आयोजना स्थलमा देखिएको अवरोध अन्त्यका लागि पहल स्वरुप बन्चरेडाँडा गएको बताए । ठेकेदारले काम रोकेको खबर पाएपछि अनुगमनमा गएको बताउँदै मन्त्री मानन्धरले आयोजना सम्पन्न गर्नका लागि बजेटको अभाव नभएको बताए । 

'सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरुले बजेट अभाव नभएको बताए पनि नियोजित रुपमा काम रोकिएको छ ।'  मन्त्री मानन्धरका प्रमुख स्वकिय सचिव ओम राजबाहकले भने- 'काम रोक्ने ठेकेदार र आयोजना प्रखुखसँग मन्त्रीज्युले स्पष्टिकरण लिने तयारी गर्नुभएको छ ।'

'प्रधानमन्त्रीले काठमाडौंको फोहर व्यवस्थापन दिर्घकालिन रुपमा समाधान हुने यो आयोजनालाई तिब्र रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ' मन्त्री मानन्धरले भने- 'आयोजना प्रमुखहरुले गलत रिपोर्टिङ गर्ने र ठेकेदारले काम रवक्ने दोहोरो चरित्र देखियो । अब कारबाहीको प्रक्रिया अघी बढाउँछु ।' 

आफु मन्त्री भएपछि पाँच पटक आयोजनाको अनुगमन गरिसकेको बताउँदै मन्त्री मानन्धरले संघीय राजधानी काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा बाधा उत्पन्न गराउनेको र अनावश्यक बखेडा निकालेर काम रोक्नेहरुलाई कारबाहि गर्ने  बताए । 
कम्तिमा सय वर्षका लागि उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिनेगरी निर्माणाधिन बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको पहिलो फेज फागुन पहिलो साता भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

स्थानीयसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै मन्त्री मानन्धरले हाल स्थानीय आयोजनामा देखिएको अवरोध अन्त्य गर्न सहमत भइसक्दा पनि काम रोकिनु गलत भएको बताए । 
आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । आयोजना सम्पन्न गर्न सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस