बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्यक्ष पालको घरको मूलद्वारमा भेटिएको उक्त बम बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।
आज बिहान ३ बजे भेटिएको बम सेनाको टोलीले मध्याह्न पौने १२ बजे निष्क्रिय पारेको हो । यस्तै डिलौशैनी गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । पालकै से १ च ४५९ नम्बरको जेसिबीमा पनि आगजनी गरिएको छ ।
डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालय पंसेरामा पनि आगजनी गरिएको छ । गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन कक्षमा आगजनी गरिएको हो । प्रशासन कक्षको ताल्चा फुटालेर गरेको आगजनीबाट कम्प्युटर, दराज र अन्य महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिनुभयो ।
आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।
राज्य पुनःस्थापना हुँदा डिलाशैनी गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँ कार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।
गाउँपालिका अध्यक्ष बोहराले भने केन्द्रका विषयमा असन्तुष्ट पक्षले आगजनी गरेको हुनसक्ने आशङ्का गरेका छन् । सम्पर्क कार्यालय रहेको ठाउँ गाउँपालिकाको केन्द्रका लागि उपयुक्त भनेर प्रतिवेदन सार्वजनिक भएपछि त्यसको विरोध भइरहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ माघ २०७६, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रमा बम बिष्फोट : १३ जनाको मृत्यु, २५ घाइते
दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम राखेको आशंका, सेनाको बम डिस्पोजल टोली परिचालन
उडिरहेको इन्डिगो विमानमा दोस्रोपटक बमको धम्की