उवासंघ चितवनको चुनावी सरगर्मी : अध्यक्षमा राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यको लडाईँ

सफल खबर संवाददाता

शनिबार, २६ पुस २०७६, १५ : ५९
उवासंघ चितवनको चुनावी सरगर्मी : अध्यक्षमा राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यको लडाईँ

चितवन । उद्योग वाणिज्य संघ चितवनको चुनावी सरगर्मी यतिबेला बढ्दो छ । अध्यक्षमा पूर्व वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र नारायणगढका पुराना व्यवसायी ज्ञानेन्द्रमान शाक्यबीच चर्को लडाईँ हुने भएको छ । 

यसअघि अध्यक्षमा राजु र चुननारायण श्रेष्ठको दावी थियो, तर समीकरण र परिस्थिति उल्टोपाल्टो बन्दै गयो । पूर्वअध्यक्षहरुबीच भएको गोलाप्रथाले चुननारायणलाई अध्यक्षबाट व्याक हटायो । त्यही गोलाप्रथाले अध्यक्षमा अर्का उम्मेदवार ज्ञानेन्द्रमान शाक्यलाई जन्मायो । 

धेरैको अनुमान थियो, यसपटक राजु र चुननारायणको अध्यक्षमा भीषण युद्ध हुन्छ, तर घुम्तीका मोडहरुले चुननारायणलाई वरिष्ठ उपाध्यक्षमा राखेको छ । 

अब अध्यक्षमा राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यको घम्साघम्सी हुने भएको छ । दुबै नारायणगढका व्यवसायी हुन् । राजु होटल व्यवसायी हुन् भने ज्ञानेन्द्रमान सुन व्यवसायी हुन् । दुबै उम्मेदवार विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् । 

राजु १० वर्षदेखि संघको पदाधिकारीमा नै रहेका छन् । सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्म पुगेका राजु यसअघिको चुनावमा अध्यक्षमा भिडेका थिए । अहिलेका अध्यक्ष सहन प्रधानसँग उनी पराजित भएका हुन् । प्रधानसँग जम्मा ३४३ मतले पराजित भएका थिए राजु । 

एक हजार १४६ मत ल्याएका सहन प्रधानसँग पराजित भएका थिए राजु । विजयी भएका सहन प्रधानले एक हजार ४८९ मत ल्याएका थिए ।

२०७२ सालमा राजन गौतम अध्यक्ष हुँदा वरिष्ठ उपाध्यक्षमा जितेका थिए राजुले । राजुले त्यतिबेला ९०२ मत ल्याएर वरिष्ठ उपाध्यक्षमा जितेका थिए । 

‘उवासंघ चितवनमा म सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्म भइसके, अब मेरो जाने ठाउँ नेतृत्व (अध्यक्ष) मा नै हो, संघमा मैले दिएको योगदानको उच्च मूल्यांकन सम्पूर्ण व्यवसायीहरुले नै गर्नेछन्’ अध्यक्षका दावेदार राजुले सफल खबरलाई भने, ‘१० वर्षसम्म घामपानी नभनी अहोरात्र व्यवसायीको हकहितमा लागेको छु, मलाई विश्वास छ, व्यवसायीहरुले यसपटक मलाई नेतृत्वमा लैजानेछन् ।’

अध्यक्षका अर्का उम्मेदवार ज्ञानेन्द्रमान शाक्य २०२४ सालदेखि नै उवासंघसँग आबद्ध रहेको बताउँछन् । शाक्य हाल संघको विशिष्ट सदस्यको रुपमा रहेका छन् । नेवाःपुचका अध्यक्षसमेत भएका शाक्य यसअघि उवासंघ चितवनका सदस्यसम्म भएका छन् ।

२०६८–७० को कार्यकालको लागि पोल्ट्रीविज्ञ तीलचन्द्र भट्टराईसँग प्रतिस्पर्धा गर्न अध्यक्षमा उठेका थिए ज्ञानेन्द्रमान शाक्य । उनले त्यतिबेला झिनो मतले भट्टराईसँग हारेका थिए । 

अध्यक्षका दावेदार शाक्यले भने, ‘म ६ कार्यकालसम्म सदस्यमा रहेर काम गरिसकेको छु, यसअघि अध्यक्षमा उठ्ने तयारी हुँदाहुँदै सहन प्रधानलाई सहयोग गरेको हुँ, यसपटक सबैको सहयोगमा मैले चुनाव जित्ने पूरा विश्वास छ ।’
दुबैले आफूले जित्ने दावी गरे पनि कसको पोल्टा भारी हुन्छ, केही दिनमै अवश्य थाहा हुन्छ । 

 अध्यक्षको उम्मेदवारबाट​ छुटे चुननारायण

अध्यक्षको उम्मेदवारबाट छुटेका छन् चुननारायण श्रेष्ठ । उनी अर्को प्यानलमा फर्केर वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिएका छन् । 

यसअघि अध्यक्षको दावेदार रहेका चुननारायण अध्यक्षका उम्मेदवार बनेका ज्ञानेन्द्रमान शाक्यको प्यानलमा फर्केका छन् । उनलाई अध्यक्षको उम्मेदवारबाट छुटाएको गोलाप्रथाले हो । गोलाप्रथामा सहभागी भएर पराजित भएका चुननारायण अन्ततः समीकरण नै तोडेर अर्को प्यानलमा फर्के । 

पूर्वअध्यक्षहरुको आग्रहअनुसार गोलाप्रथामा सहभागी भएका चुननारायण अन्तिममा त्यही गोलाप्रथाको विरुद्ध उभिँदै अर्को समीकरणमा होमिएका छन् । 

आज शाक्य प्यानलले गरेको पत्रकार सम्मेलनमा चुननारायणले आफ्नो उम्मेदवार वरिष्ठ उपाध्यक्षमा नै हुने बताएका छन् । उनले भनेका छन्, ‘मेरो उम्मेदवार राजु श्रेष्ठको विरुद्धमा हुँदैन, म वरिष्ठ उपाध्यक्षमा नै उठ्ने हो, तर म अध्यक्षमा अब ज्ञानेन्द्रमान शाक्यलाई सघाउँछु । उहाँको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिएको छु  ।’

चुननारायणले पहिलेको समीकरणलाई तोडेका छन् । पहिला पूर्वअध्यक्षहरुको अगाडि गोलाप्रथा हुँदा राजुलाई सघाउने भनी चुननारायणले जुन प्रतिबद्धता गरेका थिए, पछि त्यो प्रतिबद्धताबाट उनी व्याक हटेर शाक्य प्यानलमा जोडिन आएका हुन् । 

एक हप्ताअघि राजु श्रेष्ठलाई अध्यक्षमा उठाउने र उनलाई चुननारायणले सघाउने र राजुले यस पटक वरिष्ठ उपाध्यक्षमा चुननारायणलाई सघाउने र अर्कोपटक अध्यक्षमा सघाउने गरी समीकरण भएको थियो । पूर्वअध्यक्षहरुबीच भएको गोलाप्रथाले यो समीकरण बनाएको हो । तर पछि चुननारायण एकाएक समीकरण तोडेर शाक्य प्यानमा आएका छन् ।

चुननारायण भन्छन्, ‘म सहमतिको विरुद्धमा छैन, सहमतिअनुसार नै अध्यक्षमा उम्मेदवार नदिएको हो, जहाँसम्म सघाउने कुरा छ, त्यो म अरुलाई (ज्ञानेन्द्रमान शाक्य) लाई सघाउन सक्छु, त्यो मेरो इच्छा हो ।’

६० वर्ष अगाडि व्यापार संघको नाममा उदायको यस संघ उद्योग वाणिज्य संघ–नारायण हुँदै हाल उद्योग वाणिज्य संघ चितवन भएको छ । यसपटक ३ हजार ७८२ जना व्यवसायीहरुले मत हाल्ने अधिकार पाएका छन् । 

यसपटक पुस २८ र २९ गते संघको ५३ औं वार्षिक साधारण सभा तथा अधिवेशन हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस