काठमाडौं । विद्युतीय प्रणालीको दुरुपयोग गरे जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको छ। संसद्मा दर्ता भएको सूचना तथा प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए कसैले सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीमार्फत राज्यविरुद्धको अपराध हुने खालको कुरा उल्लेख गरे अधिकतम जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको हो।
विकास तथा प्रविधि समितिले पास गरिसकेको उक्त विधेयक संसद्मा विचाराधीन छ। विधेयकको दफा ९६ उपदफा २८ मा राज्यविरुद्धको अपराध गर्नेलाई जन्मकैदसम्मको सजाय गर्न सकिने व्यवस्था गरिएको हो। उपदफा २८ मा लेखिएको छ, ‘दफा ८८ को उपदफा (१) को कसुरमा कसुरदारलाई प्रचलित कानुनबमोजिम राज्यविरुद्धको अपराधमा सजाय हुनेछ।’
दफा ८८ को उपदफा (१) मा लेखिएको छ, ‘कसैले विद्युतीय माध्यमको प्रयोग गरी नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा संघीय एकाइबीचको सुसम्बन्धमा खलल पर्न सक्नेगरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै कामकारबाही गर्ने वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सम्बन्ध खलल गर्नु वा गराउनुहुँदैन।’
विधेयकमा उल्लेख गरिएको प्रचलित कानुन भनेको मुलुकी अपराध संहिता ऐन, २०७४ हो। मुलुकी अपराध संहितामा राज्यविरुद्धको अपराध गर्नेलाई पाँच वर्ष कैद, ५० हजार रुपैयाँ जरिवानादेखि जन्मकैदसम्मको व्यवस्था छ। राज्यविरुद्धको अपराध भनेको देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, जातीय, वर्गीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक विषयमा घृणा, अपहेलना हुने खालका विषय पर्छन्।
विधेयक जस्ताको तस्तै पास भएको खण्डमा कसैले सामाजिक सञ्जालमा रिस उठेकै भरमा अन्य जातजाति, धर्म, क्षेत्र, वर्गका विषयमा जे पायो त्यही लेखे जन्मकैदसम्मको सजाय हुने सक्नेछ। कसैले विद्युतीय माध्यमको प्रयोग गरी उल्लंघन गरे कसुरदारलाई प्रचलित कानुनबमोजिम राज्यविरुद्धको अपराधमा सजाय हुने व्यवस्था गरिएको हो।
सूचना तथा प्रविधि विधेयकमा जन्मकैदसम्मको व्यवस्था हुनुलाई कानुन व्यवसायी र सरोकारवालाले विरोध गरेका छन्। नयाँ प्रस्तावित कानुनमा अधिकतम जन्मकैदसम्म गर्न पाउने व्यवस्था गलत भएको कानुन व्यवसायी भीमार्जुन आचार्यले बताए। ‘प्रस्तावित कानुनमा विद्युतीय माध्यमबाट कसैले तलमाथि गरे नागरिकले जन्मकैदसम्मको सजाय पाउने व्यवस्था छ,’ आचार्यले भने, ‘यो कानुन लोकतन्त्र, विधिको शासनविरुद्ध छ।’ सूचना प्रविधिको दुरुपयोग गरे जन्मकैद माग गर्ने भनेको अति भएको उनको बुझाइ छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ पुस २०७६, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा प्रदेश प्रमुखले फिर्ता पठाएका विधेयक पुनः सर्वसम्मत पारित
पानीजहाज सञ्चालनसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता
टीआरसी विधेयकप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको ५ बुँदे असहमति
बजेटमाथिको छलफलसँगै अघि बढ्दै विधेयकहरू