भरतपुर महानगरको साढे दुई वर्ष : एक दर्जन गौरवको आयोजनाहरु अन्तिम चरणमा

स्मार्ट सिटीको अवधारणा साकार हुँदैछ : प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०७६, १४ : ३३
भरतपुर महानगरको साढे दुई वर्ष : एक दर्जन गौरवको आयोजनाहरु अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित भएर आउनुभएको रेनु दाहालको अवधि अढाई वर्ष पूरा भएको छ । २० वर्षपछि जनप्रतिनिधि पाएको भरतपुर महानगरमा रेनु दाहालको नेतृत्व आएपछि तीव्रताका साथ कामहरु अघि बढेका छन् । अढाइ वर्षमा धेरै विकासका कामहरु तीव्र रुपमा भइरहेका छन् भने एक दर्जन गौरवका आयोजनाहरु अन्तिम चरणमा पुगेका छन् । 

महानगरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, रिंङ रोड र लिंकरोड, भरतपुर अस्पतालको कुरुवा घर, भरतपुर २२ को अम्ब्रेला पार्क, भरतपुर १९ को रानीपोखरी, भरतपुर ६ को लक्ष्मीनारायण मन्दिर र पार्क निर्माण, भरतपुर २७ को मुसहर बस्ती निर्माण, भरतपुर विमानस्थलको विस्तारलगायत एक दर्जन गौरवका आयोजनाहरु यतिबेला धमाधम निर्माण भइरहेको छ । केही आयोजनाहरु अन्तिम चरणमा पुगेका छन् ।

भरतपुर महानगरमा अन्तिम चरणमा पुगेका आयोजनाहरुमा भरतपुर अस्पतालको कुरुवा घर हो । जसको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । 

‘भरतपुर अस्पतालमा आउने बिरामी कुरूवाका लागि अलग्गै सुविधासम्पन्न भवन बनिरहेको छ । अस्पतालभित्र बनिरहेको बिरामी कुरूवा घर एवम् पूर्वाधार निर्माणले यतिबेला तीव्रता पाइरहेको छ’ महानगर प्रमुख रेनु दाहालले भन्नुभयो । 

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले भरतपुर अस्पतालमा बिरामी कुरूवा घर बनाउन ठेक्का लगाएको ११ महिनामा ८० प्रतिशत काम सम्पन्न भएको छ । कुरूवा घर साढे तीन तलाको छ ।

स आयोजनाका अनुसार २०७५ साल पुस ९ गते सम्झौता भएको दिनदेखि नै निर्माणको काम अघि बढेको थियो । २०७५ साल माघ १७ गते तत्कालीन सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले कुरूवा घरको शिलान्यास गरेका थिए ।

भ्याटसहित ६ करोड ८१ लाख ३० हजार ३०८ रूपैयाँ ६१ पैसामा कुरूवा घर निर्माणका लागि सम्झौता भएको सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । कुल लागत अनुमान १० करोड ४८ लाख २६ हजार ७७० रूपैयाँ ९७ पैसा गरिएको छ ।

महानगरलाई हेर्दा देखिने काम भनेको सडकको कालोपत्रे हो । महानगरका प्रमुख दाहालले मोज्याक टायलसहित हिसाब गर्दा झन्डै २०० किलोमिटर कालोपत्रे भएको बताउनुभयो । ‘महानगरका कुनै वडामा कतैपनि कालोपत्रे देख्न सक्ने अवस्था थिएन, तर अहिले जुन गाउँमा गए पनि कालोपत्रे देख्न सकिन्छ’ महानगर प्रमुख दाहालको भनाइ छ । 
‘अढाइ वर्षमा सोचेजसरी विकासका कामहरु भइरहेका छन्, देशभरका पाँच महानगरभित्र भइरहेका विकासको कामको तुलनामा यो अढाइ वर्षमा भरतपुरको विकास तीव्र रुपमा भइरहेको छ’ महानगर प्रमुख दाहालले भन्नुभयो ।  उहाँका अनुसार भरतपुर महानगरमा अढाइ वर्षमा ठूला आयोजनाहरु छन्, जसलाई सम्पन्न गर्न केही समय लाग्छ । 

क्रिकेट रंगशालादेखि मुसहर बस्ती उठाउनेसम्मका कामहरु भइरहेका छन्’ प्रमुख दाहालले भन्नुभयो, ‘पार्क बनाउनेदेखि लिंकरोड र रिङरोडका कामहरु भइरहेका छन्, स्थलगत अवलोकन गरी समयमै काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छौँ ।’ अढाइ वर्षमा सबैभन्दा धेरै काम भएको सडक कालोपत्रे नै हो । महानगरका जुन गाउँमा जाँदा पनि कालोपत्रे देख्न पाइन्छ । यो महानगरको अढाइ वर्षको सबैभन्दा ठूलो उपलव्धि हो । 

भरतपुर महानगर पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा भएको छ । महानगर प्रमुख दाहाल नै रातभर सडकमा कुदेर पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको हो । 
महानगरले फलफूल तथा तरकारी बजार क्षेत्रपुरमा सारेको छ । लायन्सचोकको फलफूल बजारलाई क्षेत्रपुरमा सारेर महानगरीय फलफूल तथा तरकारी बजार सञ्चालनमा ल्याएको हो । विषादी प्रयोगशालासहितको फलफूल तथा तरकारी बजार नगरको शोभा बनेको महानगर प्रमुख दाहालले बताउनुभयो । 

एक दसकसम्म नबनेको चौबीसकोठी–चनौली सडक यतिबेला कालोपत्रे भएको छ । महानगरले अढाई वर्षमा गरेको अर्को काम नारायणगढ बजारको फुटपाथ हटाउनु हो ।  फुटपाथका नाङ्लो पसल हटाएर महानगरले पैदल यात्रामा हिँड्नेहरुलाई सहज बनाएको छ ।

तीन पांग्रे (अटो रिक्सा) लाई मुख्य राजमार्गमा रोक लगाएर स्मार्ट सिटीको अवधारणालाई महानगरले साकार पार्दै लगेको प्रमुख दाहालले बताउनुभयो ।  ‘राजमार्गमा अटो रिक्सा चल्दा धेरै दुर्घटनाहरु भएका थिए । राजमार्गमा अटो रिक्सा चल्न रोक लगाएर स्मार्ट सिटीको अवधारणाको विकास साकार पार्ने काम गरिरहेको छ’ उहाँले भन्नुभयो । 

अढाइ वर्षको अवधिमा सवारी आवागमनलाई व्यवस्थित गर्न विभिन्न २० स्थानमा व्यवस्थित ट्राफिक आइल्यान्ड राखिएको छ । भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाएको छ । क्यान्सर अस्पतालको स्तरोन्नति गरिएको छ । लक्ष्यअनुसारको राजस्व उठाइएको छ । खानेपानीको विस्तार गरिएको छ । १८ वटा वडाहरुमा अप्टिकल फाइबर बिच्छाइएको छ । प्रविधिमैत्री वडा कार्यालय बनाइएको छ । दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान छ । कृषिको मल, बीउमा अनुदान छ । सडक कालोपत्रे भएका छन् । सडकहरुमा मोज्याक टायल बिछ्याइएको छ । ज्येष्ठ नागरिकले उपचारमा छुट पाएका छन् । महिलाले भरतपुर अस्पतालमा निःशुल्क टिकट पाएका छन् । 

‘अढाई वर्षको छोटो अवधिमा सकेसम्म धेरैभन्दा धेरै कामहरु गरेका छौँ, अढाई वर्षमा भएको यहाँको विकास अन्त भएकै छैन, यो ठोकुवा गर्न सकिन्छ’ प्रमुख दाहालले भन्नुभयो । 
यस्तै, अढाइ वर्षमा शिक्षातर्फ रामपुरमा इन्जिनियरिङ क्याम्पस सञ्चालनमा ल्याइन, भरतपुर १४ मा प्रहरी विद्यालय खोल्न महानगर सफल भएको छ । पर्यटनतर्फ पटिहानीलाई देशकै एक सय गन्तव्यभित्र पार्न र मेघौलीलाई प्रदेशको एक नं गन्तव्यमा ल्याउन पनि महानगर सफल भएको छ ।

निर्माणमा भएका कामहरु :
भरतपुर महानगरका ठूला आयोजनाहरु यतिबेला निर्माणको क्रममा छन् । ‘गौरवका ठूला आयोजनाहरु अढाइ वर्षको अवधिमा पूरा हुन सक्दैनन्, धेरै निर्माणको चरणमा छन्, केही अन्तिम चरणमा पुगेको छ’ महानगरका प्रमुख रेनु दाहालले भन्नुभयो । 

महानगरको गौरवको आयोजना देवघाटमा बन्दै गरेको विद्युतीय शवदाह गृह हो । यो निर्माणको क्रममा छ । 
भरतपुर १९ को रानीपोखरी ताल तथा पार्क निर्माण, भरतपुर २७ मा मुसहर बस्ती निर्माण, भरतपुर २२ मा अम्ब्रेला पार्क, भरतपुर २४ मा आयुर्वै्दिक अस्पताल, भरतपुर ६ को लक्ष्मीनारायण मन्दिर र पार्क निर्माण महानगरको लिंकरोड, रिङरोडलगायतका ठूला आयोजनाहरु निर्माणले गति लिएको भरतपुर महानगरले जनाएको छ ।  
यस्तै, राप्ती र नारायणी तटबन्धको काम, भरतपुरको चार लेनको बाइपास सडक पनि यतिबेला निर्माणको क्रममा रहेको छ । 

केके हुँदछन् थप आयोजना 
नारायणगढको पुरानो सव्जीमण्डीमा १३ तले बहुउद्देश्यीय भवन डीपीआर भइसकेको छ । 
जिल्ला समन्वय समितिको पछाडि बन्ने भनिएको सिटीहलको डीपीआर सकिएको छ । यसको पनि वातावरणीय प्रभाव मूल्यांकन सकिएको महानगरले जनाएको छ । फागुनभित्र टेन्डर निकालिने महानगरले जनाएको छ । 
ल्याण्डफिल साइटको लागि कोरियन कम्पनी सुधोकनसँग एमओई सम्पन्न भइसकेको छ । पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेनको लागि यसको डीपीआरको काम भइरहेको छ । भरतपुर विमानस्थल विस्तारको काम अगाडि बढेको छ । केन्द्रबाट एक अध्ययन टोलीले भरतपुर विमानस्थललाई विस्तार गर्न अध्ययन भइसकेको छ । 

भरतपुर महानगरपालिकाको पाँचौं नगर सभा सम्पन्न 
भरतपुर महानगर प्रमुख रेनु दाहालल आर्थिक वर्ष २०७६ र ०७७ को नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको समीक्षात्मक प्रस्तुति गर्नुभएको छ । 

नगर प्रमुख दाहालले चालु आ. व. २०७६ र ०७७ को लागि जनसहभागिता, घरजग्गा रजिष्ट्रेशन र अन्य कर तथा गैरकर समेत गरी १ अर्व ११ करोड ५० लाख आन्तरिक आयको प्रक्षेपण गर्नुभएको थियो । जनसहभागिता २२ करोड, घरजग्गा रजिष्ट्रेसन ४० करोड र अन्य कर तथा गैरकर राजस्व ४९ करोड ५० लाख (नदीजन्य पदार्थ समेत) प्रक्षेपण गरिएको छ । 

गत आ. व.२०७५ र ०७६ को श्रावणदेखि मंसिरसम्म कूल राजस्व १८ करोड ११ लाख (घरजग्गा रजिष्ट्रेसन ३ करोड १५ लाख ८८ हजार समेत) उठेकोमा यस वर्ष ज्ञ९ करोड ८ लाख (घरजग्गा रजिष्टेसन बाहेक) उठेको छ । यो गत आ. व. को कुल राजस्व भन्दा ९ प्रतिशतले बढी हो ।

आर्थिक प्रशासन तर्फः

चालु आव २०७६ र ०७७ को कुल बजेट रु ३ अर्व ३७ करोड ३१ लाख १७ हजार रहेकोमा चालुतर्फ कुल रु. १ अर्व ५७ करोड २३ लाख रहेको छ । प्रथम चौमासिकसम्ममा भरतपुर महानगरपालिकाको समग्र चालु खर्चतर्फ रु ३३ करोड ३२ लाख २ हजार अर्थात २२ प्रतिशत रहेको छ। पुँजिगत तर्फ रु. १ अर्व  ८० करोड ७ लाख ७९ हजार रकम विनियोजन भएकोमा खर्च रु २६ करोड ८६ लाख ९० हजार अर्थात १५ प्रतिशत खर्च भएको छ। गत आव २०७५ र ०७६ को प्रथम चौमासिकसम्ममा चालुतर्फ १९ प्रतिशत र पुँजीगत तर्फ १६ प्रतिशत खर्च रहेको थियो ।
यस आ.व.मा खर्च भएको रकमको ठूलो हिस्सा गत आर्थिक वर्षको योजनाको भुक्तानी दिन बाँकी रकम रहेको महानगरले जनाएको छ ।

आम्दानीतर्फ संघीय सरकारको राजश्व वाडँफाँडबाट कुल रकम रु ३४ करोड ५८ लाख २३ हजार प्रक्षेपण गरिएकोमा मंसिर मसान्तसम्ममा जम्मा रकम ३ करोड २० लाख ९३ हजार प्राप्त भएको छ भने समानीकरण एवं सशर्त अनुदानको दोस्रो किस्तासम्म रु. टछ करोड १३ लाख २५ हजार गरी कुल रु ६८ करोड ३४ लाख १८ हजार निकासा भएको छ ।

प्रदेशतर्फ राजश्व वाँडफाँडबाट कुल रकम रु.१८ करोड ६७ लाख ४८ हजार प्रक्षेपण गरिएकोमा मंसिर मसान्तसम्ममा कुनै पनि रकम प्राप्त नभएको अवस्था छ । 
आन्तरिक आयतर्फ जम्मा रकम रु. ८० करोड प्रक्षेपण गरेकोमा मंसिर मसान्तसम्म कुल रकम रु.१९ करोड ८ लाख उठेको छ ।

आ.व. २०७३।७४ सम्मको कुल बेरुजु ६६ करोड ८९ लाख रुपैयाँ रहेकोमा हालसम्म कुनै फर्छ्यौटनभएको, आव २०७४ र ७५ को लेखा परीक्षण प्रतिवेदनले औँल्याएको बेरुजुको कुल रकम रु ३७ करोड मध्ये रु ३० करोड फर्छ्यौट भइसकेको र यस आवमा औल्याएको प्रारम्भिक बेरुजु मध्ये २२ करोड ७८ लाख लेखापरीक्षणको क्रममा फछ्यौट भएको छ र यो वर्षको २४ करोड र आव २०७४ र ०७५ को बाँकी ७ करोड समेत गरी रु ३१ करोड र आव २०७३ र ०७४ को ६६ करोड ८९ लाख बेरुजु रकम फर्छ्यौटको लागि ३५ दिनभित्र सम्परीक्षण गर्ने गरी काम भइरहेको छ ।