दस दिन चल्ला होलिडे सकियो, ६० लाख अण्डा नष्ट

सोमबार, ०७ पुस २०७६, १७ : १९
दस दिन चल्ला होलिडे सकियो, ६० लाख अण्डा नष्ट

काठमाडौं । ब्रोइलर कुखुराको चल्ला उत्पादकहरूको दश दिन लामो ‘चल्ला होलिडे’ आइतबार सकियो । यस अभियानका क्रममा ४० लाख चल्ला बन्ने ६० लाख गर्भ अवस्थाको निशेचित अण्डा नष्ट गरिएको छ । 

बजारमा चल्लाको मागभन्दा उत्पादन धेरै भएपछि नेपाल ह्याचरी उद्योग संघले चल्ला होलिडे गरेको हो । मंसिर २८ गतेबाट चल्ला होलिडे गरिएको हो । 

संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम पौड्यालका अनुसार चल्ला होलिडेमा चल्ला बन्ने अण्डा नष्ट गरिएको हो । 

ह्याचरी उद्योग संघको दाबीअनुसार एउटा चल्ला उत्पादन गर्न उद्योगको ५० रुपैयाँ, अण्डाको लागि १३ रुपैयाँ र २२ सय ग्रामको कुखुरा उत्पादन गर्न १७५ रुपैयाँ खर्च गर्नुपर्छ । लागत अनुसार उद्योगीले बजार नपाएर नै चल्ला होलिडे गर्नुपरेको उनीहरू बताउँछन् ।

पौड्यालका अनुसार, अहिले ८ रुपैयाँमा अण्डा, १५ र २० रुपैयाँमा चल्ला र २२ सय ग्रामको कुखुरा १२० रुपैयाँमा बेच्नु परेको छ ।

उपभोक्तालाई मूल्यको चाप थोपर्न नभई सरकारलाई सचेत गराउन आफ्नै उत्पादन नष्ट गरेको उनी बताउँछन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ह्याचरी उद्योगीको आन्दोलनको असर अण्डा र मासुमा पर्ने बताए ।

‘यो मूल्य बढाउने सिन्डिकेटपूर्ण आन्दोलन हो’, उनले भने । मूल्यवृद्धिका लागि विभिन्न आन्दोलन भए पनि सरकार मौन बस्ने गरेको उनको आरोप छ । 

वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण विभागले चल्ला नष्ट गर्ने अभियानमा संलग्नहरूसँग लिखित जवाफ माग्ने तयारी गरेको छ । बजारमा असर परे, नपरेबारे अध्ययन गर्दै उद्योगीहरूसँग लिखित जवाफ माग्ने विभागको तयारी रहेको महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।


 

प्रतिक्रिया दिनुहोस