तरकारी खेतीमा रमाएका दिपक अनुदान पाउँदा असन्तुष्ट

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, ०७ पुस २०७६, १४ : ५७
तरकारी खेतीमा रमाएका दिपक अनुदान पाउँदा असन्तुष्ट

–  हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । २५ वर्ष अगाडि उनी घर बनाउने काम गर्थे । तर उनीसँग आफू बस्ने घर थिएन । अरुको घरमात्र बनाउने उनीसँग चितवनमा घडेरी किनेर आफ्नो घर बनाउने सपना पूरा गर्न सक्ने आर्थिक हैसियत थिएन । विदेश जान उनलाई पटक्कै मन लाग्थेन । स्वदेशमै पसिना बगाउनु पर्छ भन्ने सोच राख्थे उनी ।

अहिले उनीसँग पाँच कठ्ठा जग्गा, घर, आफू चढ्ने एउटा गाडी, एउटा ट्रयाक्टर र अन्य थुप्रै कृषि औजारहरु भौतिक सम्पतिको रुपमा छन् । भरतपुर महानगरपालिका २६ दिव्यनगरका दिपकप्रसाद तिमिल्सिनाले यी सबै सम्पति तरकारी खेती गरेर जोडेका हुन् ।

उनले भरतपुर २६ का विभिन्न स्थानमा २२ बिघा जग्गा भाडामा लिएर शक्तिश्वरी कृषि फर्म स्थापना गरी तरकारी खेती गरिरहेका छन् । उनको बारीमा बाह्रैमास मौसमी र बेमौसमी तरकारी फलिरहेका हुन्छन् । उनले फर्सी, भेन्टा, खुर्सानी, करेला, लौका, बोडी, सिमी, टमाटरलगायतका तरकारी फलाउँछन् । 

उनको फर्ममा दैनिक ३० जनाले रोजगार पाइरहेका छन् । सिजनको बेलामा दैनिक ६० जनासम्म पुग्ने गरेको दिपक बताउँछन् । उनले आफ्नो ५ कठ्ठा जग्गामा बेर्ना जमाउँछन् । बेर्ना तयार भएपछि बारीमा रोप्न लैजान्छन् ।

बजारको लागि कुनै समस्या नभएको उनले बताए । एजेन्टहरु बारीमै आएर तरकारी खरिद गर्ने गर्छन् । एजेन्टहरुले नारायणगढ, काठमाडौंलगायतका शहरमा लगेर बेच्ने गर्छन् । कुनै समय दिपकले आफ्नो तरकारी आफैं बजारसम्म लैजान्थे । ‘सुरुसुरुमा आफैले तरकारी बजारसम्म पु¥याउने गर्थें । पछि जग्गाको क्षेत्रफल बढाएपछि तरकारीको रेखदेख गर्दै समय ठिक्क भयो । त्यसपछि एजेन्टलाई बोलएर बारीबाटै बेच्न लागें’ उनले भने । 

अहिले एक दिन बिराएर ६० हजारको हाराहारीमा तरकारी बेचिरहेको उनले बताए । वर्षमा १ करोडभन्दा बढीको तरकारी बेच्ने गरेको उनले सुनाए । तरकारीको मूल्यअनुसार आम्दानीमा फरक पर्ने उनले बताए । ‘कुनै वर्ष नाफा कमाउन सफल भइन्छ, कुनै वर्ष भइन्न । एउटा बालीबाट घाटा भएपनि अर्काेले उठाइरहेको हुन्छ’ उनले भने ।

दिपकले तरकारी खेती गर्न लागेको १५ वर्ष भयो । उनले सुरुमा २ बिघाबाट तरकारी सुरु गरेका थिए । ‘२ बिघामा तरकारी लगाउँदा तरकारी बेच्ने बेलासम्म ६० हजार खर्च भएको थियो । त्यो पैसा ऋण काढेर ल्याएको थिएँ । पछि तरकारी बेचेपछि तिरें’ उनले सुनाए । 

तरकारी विक्रीबाट आम्दानी भएको पैसालाई पुनः तरकारी खेतीमा लगानी गर्दै थप जग्गा भाडामा लिँदै जग्गाको क्षेत्रफल बढाउँदै गरेर अहिले २२ बिघासम्म आइपुगेको दिपक बताउँछन् ।

बिना कुनै तालिम उनी यहाँसम्म आइपुगेका हुन् । कृषि पेशामा लागेपछि कृषि जोन कार्यालयले भारतको दिल्ली र कर्मा कम्पनीले थाइल्याण्डमा कृषि अवलोकन भ्रमण गराएको दिपकले बताए । अहिले उनी परोपकार सहयोगी कृषि समूहको उपाध्यक्ष पनि हुन् । उक्त समूहमा मासिक बचत गर्ने तथा ऋण लिने काम हुने उनले बताए ।

सरकारप्रति गुनासो
‘कृषिमा अनुदान दिने सरकारको कार्यबाट म धेरै नै खुसी छु । तर अनुदान दिँदा कृषकको खेतमा गएर जे आवश्यक छ त्यही दिनुपर्‍यो, अफिसमा बसेर होइन’ उनले आक्रोश पोख्दै भने, ‘सरकारकै मान्छे आएर खेतबारीमा हेरेर बुझेर जानुपर्छ अनि चाहिएको चिज दिनुपर्छ ।’

उनको बारीमा सरकारले अघिल्लो वर्ष २१ लाख खर्च गरेर नेट हाउस बनाइदियो । ‘यो नेट हाउसको काम चितवनमा नहुने रहेछ’ उनले भने, ‘वर्षामा पानी परेपछि भित्र छिर्छ, हिउँदमा तापक्रम पुग्दैन । नेट हाउसको सट्टा अरु दिएको भए राम्रो हुन्थ्यो ।’ 

यो वर्ष उनले अनुदानमा ५ लाख बराबरको कोल्ड च्याम्बर पाए । तर त्यो कोल्ड च्याम्बर पनि आफूलाई आवश्यक नभएको दिपकले बताए । ‘कि ठूलै दिएको भए हुन्थ्यो । त्यसमा कति तरकारी राख्ने ? बजार पुर्‍याउँदा तरकारी ओइलाइसकेको हुन्छ’ उनले असन्तुष्टि पोखे । 

उनले आफ्नो बारीका लागि मल्चिङ प्लाष्टिक खरिद गर्दा धेरै लगानी लाग्ने गरेको बताए । उनले मल्चिङ प्लाष्टिकमा भन्सार छुटको माग गरेका छन् । 

तरकारीमा आत्मनिर्भर यसरी
कृषिप्रधान देश भएकाले नेपालमा तरकारी खेतीको प्रचुर सम्भावना देखेका छन् दिपकले । तरकारी खेतीले देशको आर्थिक अवस्था बलियोे बनाउन सकिने उनले बताए । तर राज्यले यो क्षेत्रमा अझ बढी ध्यान दिनुपर्छ ।

भारतीय तरकारीको आयातलाई रोकेर जुन ठाउँमा जे फल्छ त्यही फलाउन सके देश तरकारीमा आत्मनिर्भर बन्ने उनको बुझाइ छ । ‘भारतबाट सस्तोमा आउँछ हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो छ’ उनले भने, ‘भारतीय तरकारीलाई सरकारले खुला रुपमा बिना विषादी जाँच आउन दिन्छ । उनीहरुको धेरै विषादी हालिएको तरकारी हेर्दा राम्रो र सस्तो पनि हुन्छ । नेपालीहरुले त्यही किन्छन्’ उनले भने । प्रतिस्पर्धा गर्न नसकेर नै नेपालीहरुले कृषिप्रति चासो नदिने गरेको उनको ठम्याइ छ ।

आफूहरुले सिजनको समयमा टमाटर नल्याउन आग्रह गर्दा पनि झन् बढी भित्र्याउने गरेको उनले बताए । बजारमा व्यापारीहरु अधिकांश भारतीय भएका कारण पनि समस्या हुने गरेको दिपक बताउँछन् । ‘हामी किसानहरुले त सबै तरकारीको आयात बन्द गुर्नुपर्छ भन्छौं’ उनी सहजै भन्छन्, ‘आयात रोकिएपछि एक वर्ष कष्ट हो । अर्काे वर्षबाट सबैले जहाँ जे फल्छ त्यही रोप्न थाल्छन् । अनि देश तरकारीमा आत्मनिर्भर बन्छ ।’

तरकारी खेतीमा विषदीको प्रयोग ठूलो समस्याको रुपमा रहेको उनले बताए । ‘मानव शरीरलाई हानी गर्ने सबै विषादी औषधि बन्द गर्नुपर्छ’ उनले भने । आफ्नो खेती अर्गानिक नभएपनि आफूले कडा खालको विषादी प्रयोग नगर्ने गरेको उनको दाबी छ । ‘बजारमा मान्छेले राम्रो तरकारी किन्छन्, तर राम्रो तरकारीमा विषादी हुन्छ । नराम्रोमा हुन्न भन्ने मान्छेले बुझ्दैनन्,’ उनी भन्छन् ।

तरकारी खेतीको शत्रु
दिपकका अनुसार तरकारी खेतीको शत्रु असिना हो । असिनाका कारण कुनै कुनै वर्ष उनले घाटा व्यहोरेका छन् । ‘गतवर्ष पनि ८ बिघाको टमाटर असिनाका कारण सबै खतम भयो । जसबाट ५० लाखको टमाटर नोक्सान भयो’ उनले दुःखेसो पोखे । तीन पटकसम्म असिनाले यस्तै ठूलो क्षति गरेको दिपकले सुनाए । तरकारीमा लाग्ने विभिन्न रोग, किराफट्याङ्ग्रा खेतीका लागि शत्रु भएको उनले बताए । 

‘जे जे भए पनि हार नखाई आफ्नो कामलाई निरन्तरता दिँदै आएँ’ उनले भने । असिनाले नोक्सान गरेको बालीको क्षतिपूर्ति माग्दा बिमा कम्पनीले तनाव दिने गरेको उनले गुनासो गरे । ‘बिमा एकदम झन्झटिलो छ । क्षतिको विवरण संकलन गर्न आउँदा फेरि फल्न लाग्यो भन्छन् । सकभर पैसा दिनै खोज्दैनन्’ उनी भन्छन् ।
 

प्रतिक्रिया दिनुहोस