– रोशन दाहाल
प्रख्यात साहित्यकार हुनुहुन्छ एकजना । उहाँको प्रशंसक हुँ म । प्रसंग निस्कँदा जहाँ पनि उहाँको प्रशंसा गर्छु । ठाउँठाउँमा प्रसंगवश कुरा हुँदा मान्छेहरुले उहाँका बारेमा सुनाए ।
लेखन कला सिकाउने एक शिक्षकले सुनाए – उनले यहीँ लेख्न सिकेका हुन्, लेख्नै जान्दैनथे ।
एक ज्योतिषले सुनाए – उनको मैले नै ग्रहशान्ति गरिदिएको हुँ, उनको गह्र बिग्रेको थियो ।
एक प्रकाशकले सुनाए – उसलाई लेखक मैले नै बनाएको हुँ, कुनै प्रकाशले पत्याएका थिएनन् ।
एक गुरुले सुनाए – उनलाई मैले आशीर्वाद दिएको थिएँ, मेरो आशीर्वाद लाग्यो ।
एउटा इन्स्टिच्युटका मालिकले सुनाए – उसले यहीँ ट्युसन पढ्थ्यो, हामीले खुब मेहनत गर्यौं उसका लागि ।
उहाँलाई पढाउने स्कुलका शिक्षकले सुनाए – उसलाई मैले नै पढाएको हुँ, धेरै मेहनत गर्नुपर्यो उसलाई पढाउन ।
उहाँका एक साथीले सुनाए – उसले लेखेपछि सधैँ मलाई नै देखाउँथ्यो, उसको चलेको उपन्यास मैले भनेअनुसार नै घटबढ गर्यो ।
धेरैले उहाँलाई आफैँले साहित्यकार बनाएजस्तो गरी आफ्ना कुरा सुनाए ।
एकदिन मेरा ती प्रिय साहित्यकारसँग भेट हुँदा मैले भनेँ – तपाईंलाई साहित्यकार बनाउन त धेरैको हात रहेछ है ।
उहाँ एकपटक हाँस्नुभयो र प्रतिक्रिया दिनुभयो – खासमा म अभिनेता बन्न चाहन्थेँ, लेखक होइन । कतिखेर लेखक र साहित्यकार बनेँ, मलाई नै थाहा भएन । उनीहरुलाई पहिल्यै थाहा थियो भने म जान्दिनँ । कलेज पढ्दा लेखेको कविता छपाउन भनेर सुरुमा प्रकाशककहाँ छिरेको थिएँ ।
प्रतिक्रिया दिनुहोस