चितवन । विश्वमा सबैभन्दा बढी प्लाष्टिकयुक्त फोहोरको उत्पादन कोकाकोला कम्पनीबाट भएको तथ्य सार्वजनिक भएपछि विश्वमै बदनाम हुँदै गएको छ कोकाकोला कम्पनी । यो मिथ्या आरोप होइन, प्रमाणित तथ्य हो ।
केही समयअघि भारतीय योगगुरु बाबा रामदेवले ‘कोकाकोला भनेको ट्वाइलेट क्लीनर हो । यसको सेवन नगर्नु’ भने । यसलाई केहीले पचाउन सकेनन् । लगत्तै सामाजिक सञ्जालहरुमा खिया लागेको रेञ्ची कोकाकोलाले सफा गरेको भिडियो आयो । त्यो भिडियोले कोकका धेरै समर्थकको बोल्ती बन्द गराइदियो । यतिबेला विश्वमा सबैभन्दा बढी प्लाष्टिकयुक्त फोहोरको उत्पादन गरेको भनी कोकाकोला पुनः बदनाम भएको छ ।
‘कोकाकोला फेरि एकपटक विश्वको सबैभन्दा ठूलो वातावरण प्रदूषक बन्यो’ शीर्षकमा दि गार्जियन डट कमले समाचार प्रकाशित गरेपछि कोकाकोलाको बदमासी सतहमा आएको हो । समाचारमा जनाइए अनुसार कोकाकोला फेरि एकपटक विश्वको सबैभन्दा ठूलो वातावरण प्रदूषक कम्पनीको रुपमा बदनाम भएको छ । विश्वमा सबैभन्दा धेरै प्लाष्टिकयुक्त फोहोरको उत्पादन कोकाकोला कम्पनीबाट भएको रिपोर्ट सार्वजनिक भएको छ ।
ब्रेक फ्री फ्रम प्लाष्टिक नामक विश्वव्यापी अभियानले गत सेप्टेम्बर महिनामा विश्वका ५१ देशमा संकलन गरेको प्लाष्टिकयुक्त फोहोरमा ४३ प्रतिशत कोकाकोलाको थियो । ब्रेक फ्री फ्रम प्लाष्टिक नामक विश्वव्यापी अभियानमा आवद्ध ७२ हजार ५ सय ४१ जना स्वयंसेवक फोहोर संकलनमा सहभागी थिए । उनीहरुले दिएको तथ्यांकको आधारमा निकालिएको प्रतिवेदनले कोकाकोलालाई विश्वको सबैभन्दा ठूलो वातावरण प्रदूषक कम्पनीको ट्याग लगाएको हो । सबैभन्दा धेरै प्लाष्टिकयुक्त फोहोरको उत्पादन गर्नेमा कोकाकोलापछि पेप्सिको र नेस्ले रहेका छन् ।Image : https://www.breakfreefromplastic.org/
विश्वका ३७ देशमा कोकाकोलाका एक हजार दुई सय वटा कारखाना छन् । तीमध्ये भरतपुर महानगरपालिका वडा नम्बर ९, गोन्द्राङस्थित बोटलर्स नेपाल तराई लिमिटेड पनि एक हो । यस कारखानाले भूमिगत जलस्रोतको दोहन गर्नुका साथै वायु र ध्वनि प्रदूषण बढाएको छ । कम्पनी स्थापना हुँदा गरिएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख गरिएको मानकभन्दा बढी मात्रामा प्रदूषण गरेको पाइएको छ ।
प्राकृतिक स्रोतको चरम दोहन
अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोलाले दक्षिण एसियाली मुलुकमा प्राकृतिक स्रोतको चरम दोहन गर्दै आएको छ । भारतको राजस्थानलाई मरुभूमि बनाएर हिँडेको कोकाकोला कम्पनीले सुन्दर सहर भरतपुरलाई पनि मरुभूमि बनाउन खोजेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ९, गोन्द्राङमा रहेको कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडले बोरिङबाट दैनिक छ लाख लिटरभन्दा बढी पानी निकाल्ने गरेको छ । कम्पनीले सात वर्षअघि सरकारलाई बुझाएको एक सय ९२ पृष्ठको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए रिपोर्ट) मा रहेको परियोजना विवरणमा उल्लेख भएको उत्पादन परिमाण अनुसार कम्पनीले दैनिक छ लाख लिटरभन्दा बढी पानी खपत गर्दै आएको छ ।
जानकारहरुका अनुसार, एक लिटर कोक उत्पादन गर्न कम्तीमा छ लिटर पानी चाहिन्छ । कम्पनीको ईआईए रिपोर्टमा रहेको परियोजना विवरणमा वार्षिक १६ करोड २६ लाख लिटर हल्का पेयपदार्थ (कोकफेण्टा) र चार करोड ६ लाख ५० हजार लिटर पानी उत्पादन गरिने उल्लेख छ । यति परिमाणको उत्पादनका लागि बोरिङबाट दैनिक कम्तीमा छ लाख लिटरभन्दा बढी पानी निकाल्नु पर्छ ।
कोकाकोला कम्पनीले जमिनमुनिबाट अत्याधिक मात्रामा (दैनिक छ लाख लिटर) पानी निकाल्दा गोन्द्राङ क्षेत्रका पानीका मुहान सुक्न थालेका छन् । कारखाना वरपरका बासिन्दाले धारा र इनार सुक्न थालेको गुनासो गरेका छन् । कम्पनीलेईआईए रिपोर्टमा दुई वटा बोरिङ संचालन गर्ने उल्लेख गरेको छ । तर अहिले बोटलर्स नेपाल तराई लिमिटेडले छ वटा बोरिङबाट दैनिक छ लाख लिटरभन्दा बढी पानी निकाल्ने गरेको छ । कम्पनीले दुई वटा बोरिङको अनुमति लिएर छ वटा बोरिङ संचालन गरिरहेको स्थानीयवासी बताउँछन् । सरकारी निकायले अनुगमन नगर्दा बहुराष्ट्रिय कम्पनीले प्राकृृतिक स्रोतमाथि चरम दोहन गरिरहेको र स्थानीय सरकारसमेत निरीह देखिएको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
सोमबार, २३ मंसिर २०७६, १२ : ३१
लेखकबाट थप