घाँसमा आधारित पशुपालन गर्न किसानलाई सुझाव

सफल खबर संवाददाता

विहीबार, १९ मंसिर २०७६, १७ : ००
घाँसमा आधारित पशुपालन गर्न किसानलाई सुझाव

चितवन । घाँसमा आधारित पशुपालन गर्न किसानलाई सुझाव दिइएको छ । चोकर दाना बाहिरबाट आयात हुने र मूल्य पनि बढिरहने हुनाले घाँसमा आधारित पशुपालन गर्न किसानलाई आग्रह गरिएको हो । 

भरतपुर महानगर वडा नं ६ मा रहेको अन्नपूर्ण दुग्ध सहकारी संघमा भएको आधारभूत मिल्क अनालाइजर सञ्चालन तथा मर्मत तालिमको समापन कार्यक्रमका वक्ताहरुले घाँसमा आधारित पशुपालन गर्न किसानलाई सुझाव दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय दुग्ध सहकारी संघका उपाध्यक्ष रामेश्वर पोख्रेलले किसानलाई घाँसमा आधारित पशुपालन गर्न सुझाव दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘दाना चोकरलाई दूधमा लागत बढाइरहेको छ, त्यसैले घाँसमा आधारित पशुपालन गर्नुपर्ने समय अब आयो । 

उहाँले अनालाइजरसम्बन्धी तालिम लिएका दुग्ध सहकारीका कर्मचारीहरुलाई आफूले सिकेको सिप र क्षमता आफ्नो सहकारीमा प्रयोग गरी किसान र सहकारीबीच बढेको अन्तर्विरोधका भावना घटाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै समय किसानले ल्याक्टो र फ्याट राम्रो आएन भनेर सहकारीका कर्मचारीसँग रिसाउने गर्थे, तर अहिले अन्तर्विरोधको दुरी हटेको छ, अनालाइजर मेशिनले सही देखाउँछ ।’ 

उहाँले अनालाइजर मेशिनको तालिम लिनेहरुलाई आफ्नो सहकारीमा गएर सीप देखाउन र किसानलाई सुन्तुष्ट पार्न अनुरोध गर्नुभएको थियो । तीन दिनको तालिम समापन कार्यक्रममा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र भरतपुरका प्रमुख दयाराम चापागाईंले तीन तहको सरकारले ल्याएको अनुदानका कार्यक्रमप्रति चासो राख्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब दुग्ध सहकारीहरु प्रविधिमैत्री बन्दै गएका हुनाले कर्मचारीहरु पनि प्रविधिप्रति सिपालु हुनुपर्छ ।’ 

कार्यक्रममा भरतपुर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले कृषि र पशुपालन एकै सिक्काका दुई पाटा भएको बताउँदै एकीकृत पशुपालनमा जोड दिएका थिए । जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम सचिव किशोर बगालले सञ्चालन गरेका थिए । अनालाइजरसम्बन्धी तालिम लिनेहरुलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।

चितवन जिल्लाका विभिन्न दुग्ध सहकारीका २० भन्दा बढी कर्मचारीहरुले अनालाइजरसम्बन्धी तालिम लिएका थिए । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाको सहयोगमा केन्द्रीय दुग्ध सहकारी संघले तालिमको आयोजना गरेको हो । 


 
 

प्रतिक्रिया दिनुहोस