किन भयो नेकपा अध्यक्ष दाहालको चीन भ्रमण स्थगित ?

पत्रपत्रिकाबाट

मंगलबार, १७ मंसिर २०७६, ०६ : ४०
किन भयो नेकपा अध्यक्ष दाहालको चीन भ्रमण स्थगित ?

काठमाडौँ  । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ । अध्यक्ष दाहाल नेतृत्वको ६० सदस्यीय टोली मंसिर २४ गते चीन भ्रमण जाने कार्यक्रम तय भएको थियो । शुक्रबार नेपाल–चीन मिडिया फोरमले काठमाडौंमा गरेको कार्यक्रममा दाहालले आफू चिनियाँँ कम्युनिष्ट पार्टीको निम्तोमा छिट्टै चीन जान लागेको जानकारी दिएका थिए । 

उक्त कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला भएका सहमति कार्यान्वयनका लागि आफ्नो चीन भ्रमण सहयोगी बन्ने दाहालले बताएका थिए। दाहालको भ्रमणका क्रममा नेकपाका अन्य नेता–कार्यकर्ताले चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालन, सरकार सञ्चालन, प्रशिक्षण लगायत विषयमा चिनियाँ नेताको अनुभव लिने कार्यक्रम थियो। तर, एक साता अगाडि अचानक दाहालको भ्रमण स्थगित भएको छ।

अध्यक्ष दाहाल र नेपालका लागि कार्यवाहक चिनियाँ राजदूतबीच सोमबार भएको छलफलपछि भ्रमण स्थगित भएको उनी निकट एक नेताले बताए। राजदूतसँगको भेटमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति र पार्टी सञ्चालनको जिम्मेवारीलाई मध्यनजर गर्दै तत्काल चीन भ्रमण उपयुक्त नभएको भन्दै पछाडि सार्नआग्रह गरेका थिए।

मंसिर २४ लाई तय भएको दाहालको भ्रमण स्थगित नगर्न चिनियाँ पक्षबाट दबाब आएपनि तत्काल भ्रमण गर्न हतार हुने निर्णयमा दाहाल पुगेपछि भ्रमण स्थगित भएको हो। पार्टीका अन्य शीर्ष नेताहरुले पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई हेरेर भ्रमण स्थगित गर्न दाहाललाई सुझाव दिएका थिए। दाहालको चीन भ्रमण तत्काललाई स्थगित भएको पुष्टी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले गरे। उनका अनुसार तत्काल रोकिएको दाहालको भ्रमणको अर्को मिति भने तय भएको छैन।

असोज पहिलो साता नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच उच्चस्तरीय भ्रमण आदानप्रदानसहितको ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीपत्रमा दुई पार्टीका कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि गर्ने, पार्टीका अनुभवमा आधारित सहयोग आदानप्रदान गर्ने लगाएत उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस