काठमाडौं। नेपाल वायुसेवा निगमको वार्षिक बजेट बैठक शुरू भएको छ । दुई दिनसम्म चल्ने उक्त बैठकको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका छन् ।बिहीवार निगमका प्रवक्ता रमेश पौडेलले एक विज्ञप्ति जारी गर्दै मन्त्री तामाङले निगमको केन्द्रीय कार्यालय अनुगमन तथा निरीक्षणसमेत गरेको उल्लेख गरेका हुन् । उक्त अवसरमा पर्यटन सचिव डा गणेशप्रसाद पाण्डेयको समेत उपस्थिति रहेको थियो ।
बैठक उद्घाटन कार्यक्रममा निगमका कार्यकारी अध्यक्षसहित निगमका विभागीय प्रमुखहरू, अन्तर्राष्ट्रिय स्टेसनका प्रमुख, सम्बन्धित महाशाखा तथा शाखा प्रमुखहरू र निगममा क्रियाशील चारवटै ट्रेड युनियनका अध्यक्षको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा निगमका बजार व्यवस्थापन विभागका निर्देशक टंकनिधि दाहालले निगमको हालको बजार स्थिति र बजारीकरणको विषयमा प्रस्तुतीकरण गरेका थिए। पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’उक्त समीक्षा बैठक तथा बजेट प्रक्षेपण कार्यक्रम जेठ ३ र ४ गते दुई दिन चल्नेछ ।’
बैठक उद्घाटन कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए ।
उनले मन्त्रालयसमक्ष जहाज तथा विमानस्थलमा चल्ने उपकरणहरूको मर्मत सम्भारमा लाग्ने पाटपुर्जाहरू र निगमको जहाजमा प्रयोग हुने खाद्य सामग्रीमा भन्सार छुट सुविधा उपलब्ध गराउन समन्वयात्मक भूमिका खेल्नसमेत अनुरोध गरेका थिए ।
कार्यकारी अध्यक्ष अधिकारीले हवाई इन्धनमा लगाइएको कर छुट गर्नेतर्फ पहल गर्न, निगमलाई नेपाल सरकारको तर्फबाट विशेष सुविधाहरू दिलाउन, विमान चालक तथा अन्य कर्मचारीहरूको सेवा सुविधा वृद्धि गर्नसमेत सरकारसँग अनुरोध गरे ।
त्यस्तै अधिकारीले मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने, नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधानअनुसार राष्ट्रिय ध्वजाबाहकलाई सुदृढ र सबल बनाउन सहयोगको खाँचो रहेको बताएका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पाण्डेयले निगमका कर्मचारीलाई सधैं इमान्दारीपूर्वक आ–आफ्नो कार्यमा लाग्न निर्देशन दिए ।
उनले सबैले एक साथ इमान्दारीताका साथ काम गरे मात्र निगमले प्रगति गर्न सक्ने विश्वास व्यक्त गर्दै मन्त्रालयबाट गर्नुपर्ने कार्यहरूमा सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।
सो अवसरमा उड्डयनमन्त्री तामाङले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने प्रतिबद्धता जनाए । उनले निगमका हरेक विभागले गर्नुपर्ने नियमित काममा ढिलासुस्ती नगर्न र कसैको कारणबाट निगमलाई हानी–नोक्सानी हुन गएमा सोही व्यक्ति जिम्मेवार रहनेतर्फ सचेत गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
नेवानिको टिकट एक रातमा सबै बिक्री
निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो
वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा
इजरायलमा मर्मत गरेर काठमाडौं आइपुग्यो वायुसेवा निगमको जहाज
निगमद्वारा दुई वटा न्यारोबडी जहाज भाडामा लिन बोलपत्र आह्वान