ताइवान भूकम्पमा मर्नेको संख्या ९ पुग्यो, ६२ जना अझै सम्पर्कविहिन

विहीबार, २५ माघ २०७४, १० : २०
ताइवान भूकम्पमा मर्नेको संख्या ९ पुग्यो, ६२ जना अझै सम्पर्कविहिन

ताइपेह । ताइवानमा मंगलबार राति गएको शक्तिशाली भुकम्पका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। पछिल्लो सुचनाअनुसार हालसम्म २ सय ६५ जनाभन्दा बढि घाइते भएका छन् ।

भुकम्पका कारण ६२ जना अझै हराइरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार मृत्यु हुनेमा ३ जना पर्यटक रहेका छन् । जसमध्ये आज बिहान मात्रै फुजियान प्रान्तस्थित योन मेन तुसी ती भवनबाट २ जनाको शव निकालएको छ ।

सोहि भवनबाट उद्दारकर्ताहरुले हिजो एक महिला पर्यटकको जीवितै उद्दार गरेका । थिए गम्भिर घाइते भएको अवस्थामा उद्दार गरिएकी ती महिला पर्यटकको बुधबार राति ९ बजेको समयमा मृत्यु भएको थियो । स्थानीय समयअनुसार मंगलबार राति ११ः५० को समयमा ६.५ म्याग्निच्यूडको भूकम्पको धक्का महशुष भएको थियो ।

ताइवानको राजधानीबाट करिब १ सय ६० किलोमिटर दुरीमा रहेको हुवालेन सहर नजिकैको समुन्द्री टापुमा भुकम्पको केन्द्र रहेको थियाे । भुकम्पको केन्द्र नजिकैको शहर भएकोले पनि हुवालेनमा बढि क्षति पुगेको छ। सो शहरमा रहेका ठुला भवनहरु, होटल तथा अस्पतालसमेत क्षतिग्रस्त भएको जनाइएको छ ।

उद्दारकर्ताहरुले भत्केका होटल तथा आवासिय क्षेत्रमा हालसम्म पनि उद्दार कार्यलाई निरन्तरता दिइरहेका छन्। भुकम्पबाट कतिपय स्थानमा घरहरु जमिनमुनि भासिएका, सडकमा चिरा परेका तथा ठुलो संख्यामा पुलहरु पनि क्षतिग्रस्त भएको बताइएको छ ।

ताइवानी सरकारले उद्दार कार्यका लागि राष्ट्रिय सेनालाई खटाएको छ । हुवालेन काउन्टीका प्रमुख फु कुन–चीले सो भुकम्पलाई पछिल्लो ५ दशकको सबैभन्दा विनाशकारी भुकम्पको संज्ञा दिएका छन् ।  

केहि दिनसम्म सो क्षेत्रमा पराकम्पनहरु आउनसक्ने भन्दै स्थानीयहरुलाई सुरक्षित रहन सरकारले सचेत बनाएको छ। हुवालेन सहर करिव १ लाख जनसंख्या भएको पर्यटकिय इलाका हो । ताइवान २ टेक्टोनिक प्लेटको नजिकै रहेको राष्ट्र भएकोले त्यहाँ लगातार भुकम्पको झड्का आइरहन्छ ।

प्रतिक्रिया दिनुहोस